पार्टी एकता अभियानमा बामदेव गौतम, कति सम्भव ?

बामदेव गौतम

काठमाडौं: नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन् ।

गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गरेका हुन् ।

पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै समूहलाई समर्थन नगरी अभियानको संयोजक बनेर अगाडि आएको गौतमले वक्तव्यमार्फत जनाएका छन् ।

‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस् । यसो गर्नुभयो भने प्रिय कमरेडहरू हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरूलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनर्एकीकरण गर्न सकिनेछ’, गौतमले वक्तव्यमा भनेका छन् ।

सरकारले एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पीडादायी भएको वक्तव्यमा उल्लेख रहेकाे खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

गौतमले नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा रहेको पार्टी पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरूको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु शीर्षस्थ नेताहरूको अयोग्यताको द्योतक भएको जनाएका छन् । उनले विभाजन रोक्न नसके नेपाली जनताले कहिल्यै माफी नदिने चेतावनी दिएका छन्।

‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनर्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन्’, उनले भनेका छन् ।

उनले दुवै खेमालाई एकअर्काविरुद्ध गरिरहेका लडाइँ बन्द गर्न आग्रह गरेका छन् ।

‘एकअर्कालाई दोष दिँदै, सामान्य मानमर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीलाई हसाउँदै सुरु गर्नुभएको लडाइँ बन्द गर्नुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं सहिदको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं’, व्यक्तव्यमा लेखिएको छ, ‘ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्धतिअनुरूप सम्मानजनक ढंगबाट हल गरौं ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार