उद्यमी बन्दै डडेल्धुराका कैनी समुदाय

बाँसबेतका सामग्री
फाईल तस्बिर

अमरगढी: डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–७ तिलाडीका कैनी दलित समुदाय उद्यमी बन्दै गएका छन् ।

परम्परागत रूपमा बनाइँदै आएका बाँसबेतका सामग्रीको बजारमा माग बढ्न थालेपछि पोखरा तिलाडीका करिब २ सय परिवार अहिले व्यावसायिक रुपमा सो पेशा लागेका हुन् । युवादेखि वृद्धवृदा अहिले बाँस निँगालो र बेतबाट  दैनिक र्‍याक, दराज, कुर्सी, चुरा राख्ने स्ट्याण्ड, चुरेटदानी तथा धार्मिकस्थलजस्तै बस्तु निर्माण गरेका हुन् ।

ती सामग्री जिल्लाबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङसम्म बिक्रीवितरण गरिरहेका छन् । अहिले गैरदलित समुदायसमेत बाँसबेतका सामग्री बनाउने पेशामा लागेको पोखरा–७ (तिलाडी) का रमेश कैनीले जानकारी दिए । उनले भने, “यो पेशामा लागेको २० वर्ष भयो मासिक १५ देखि २० हजार यसै पेशाबाट कमाएको छु ।”

पहिले महाभारतको लेकबाट निँगालो र बेत ल्याउने गरेको भएपनि केही समययता सामुदायिक वनले रोक लगाएपछि बझाङबाट कच्चा पदार्थ किनेर ल्याउने गरेको उनले बताए । अमरगढी नगरपालिका–७ का ती समुदायले आफ्नै गाउँमा जनकल्याण सहकारी संस्था लिमिटेड दर्ता गरेर व्यवसाय सञ्चालन गरिहेका छन् ।

पोखरा तिलाडीगाउँमा १०० दलित परिवार रहेका छन् । उनीहरु अहिले सहकारीमा आवद्ध भई सामूहिकरूपमा सामग्री निर्माण गरी बिक्री वितरण गर्ने गरिरहेका छन् । सहकारी निर्माण गरेपछि बैंकबाट ऋण लिनपनि सजिलो भएको सिर्जनशील सहकारीका अध्यक्ष प्रेम कैनीले बताए । सामग्री बिक्रीपछि केही पैसा सहकारीमा राख्ने गरेको समेत उनले बताए ।

आधुनिकता बढेसँगै निँगालो बाँसको काम गर्नका लागि आधुनिक उपकरण अभाव रहेको बताइएको छ । अध्यक्ष कैनीले भने “मागअनुसार सामग्री बनाउन समस्या छ । यसका लागि हामीलाई कुनै निकायबाट सहयोगको खाँचो छ ।” डडेल्धुरा जिल्लाभन्दा बाहिरी जिल्लामा बाँसबाट बनाइएका सामग्रीको माग बढी रहेको भएपनि यातायात भाडादर महङ्गो भएकाले लैजान समस्या रहेको छ ।

स्थानीयस्तरमा बनाइने सामग्री अहिलेसम्म पुरानै प्रविधिबाट काम गरिरहेकाले अब व्यावसायिकरूपमा अगाडि बढ्नका लागि नयाँ प्रविधि, ज्ञान सीप सिकाइ सहयोग आवश्यकता रहेको स्थानीय राजु कैनीले बताए । परम्परागत सीपलाई परिमार्जन गरी लक्षित समुदायसम्म पुर्‍याउनसके व्यवसाय व्यावसायिकरूपमा अगाडि बढ्न सक्ने स्थानीयवासीको भनाइ छ ।

नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले कैनी समुदायका पेशा आधुनिकीरण गर्न तालिम तथा सहकारीलाई दुई लाखको बीउ पूँजी सहयोग गरिएको जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार