कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै

जीर्ण बन्दै कैलालीको गर्भा दरबार

कैलालीको गर्भा दरबार
फाइल तस्बिर

कैलाली: कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ। विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो।

एक सय वर्ष पुरानो दरबार कुनै तहबाट पनि पहल नभएको चुरे गाउँपालिका– ४ का वडाध्यक्ष कृष्ण मल्लले बताए। स्थानीय बासिन्दाले भने यसको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आएका छन्।

दरबार जीर्ण हुँदै गएकाले पछि लगाइएको टिनको छाना हावाले उडाएको छ भने प्रयोगविहीन हुँदा भवन भत्किँदै जानका साथै कलाकृतिले भरिएको भित्ता पनि २०५५ सालदेखि भत्किन सुरू भएको वडाध्यक्ष मल्लको भनाइ थियो। विसं २०३२ सम्म दरबारमा चहलपहल हुँदै आएको थियो।

खड्कका छोरा बहादुरपछि उनका साहिला छोरा तेजप्रकाशको भागमा दरबार परेको स्थानीय जानकार बताउँछन्। विसं २०३३ पछि भने यहाँ कोही पनि बसेका छैनन्। हावापानी, मौसम र भौगोलिक रुपमा उपयुक्त भएकाले राणा शासकले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीय बासिन्दाको छ। पुराना कलाकृतिका दरबारमा ८३ झ्याल र ५३ ढोका छन्।

दश रोपनी जमिनमा फैलिएको दरबारको तीन खण्ड र तीन तल्ला छ। सुरक्षाका लागि दरबारको भूइँतल्लामा सुरुङसमेत बनाइएकामा अहिले पुरिँदै गएको छ। उतिबेला राणा शासक खैरालाको दरबारबाट बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फूमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ।

चुरे गाउँपालिकाले यस दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सोच बनाएको अध्यक्ष धनबहादुर रोकामगरले बताए। दरबार संरक्षणका लागि पर्याप्त बजेट नभएकाले आफूहरूले प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिरहेको उनको भनाइ थियो।

सुदूरपश्चिम प्रदेश सरकारले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आए पनि फ्रिज हुने गरेको भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले बताए। आर्थिक वर्षको अन्तमा बजेट निकासा भएकाले पर्याप्त समय नहुँदा फ्रिज हुने गरेको उनको भनाइ थियो। गत वर्ष पुरातत्व विभागको एक टोलीले दरबारको अवलोकन गरेकामा त्यसको प्रतिवेदन सरकारलाई बुझाएपछि काम सुरु गरिने बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार