कञ्चनपुरमा भेटिए ६०२ जना कुपोषित बालबालिका

कुपोषित बालबालिका

कञ्चनपुर : जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ।

साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये ९५ जनामा कडा खालको कुपोषण र ५०७ मा मध्यम खालको कुपोषण देखिएको छ।

जिल्लाभर सबैभन्दा बढी कुपोषण बेलडाँडी गाउँपालिकामा भेटिएको छ। त्गहाँका १०२ जना बालबालिकामा कुपोषण देखिएको छ। कुपोषणका लागि बहिरङ्ग सेवा(ओटीसी) सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले कुपोषित बालबालिका खोजी गरेका हुन्। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई समावेश गरिएको थियो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कोरोना महामारी संक्रमणले बालबालिकामा कुपोषणको समस्या देखा परेपछि अभियान सञ्चालन गरी खोजी कार्य गरिएको बताए। ‘कोभिड महामारीले अप्ठ्यारो थियो, अझै पनि छ। कोभिडको असर बालबालिकामा पनि प¥यो। त्यसैले नयाँ वर्षसंगै यो अभियान सञ्चालन गरियो’ उनले भने, ‘त्यसका लागि स्वःस्फूर्त रुपमा स्वास्थ्यकर्मीले टोल टोलमा गएर कुपोषित बालबालिका खोजेका छन्।’

उनले अभियानबाट पत्ता लागेका बालबालिकाको उपचारका लागि प्रक्रिया अघि बढाइने बताए। ‘कुपोषित भएपछि बालबालिकाको शारीरिक, मानसिक विकास हुन सक्दैन, त्यसले प्रगति नै रोकिन्छ,’ उनले भने, ‘अभियानका क्रममा  पत्ता लागेका कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याउँछौ। त्यसले उनीहरुको कुपोषणको समस्या हल हुन्छ।’

स्वास्थ्यकर्मीहरुका अनुसार कडा खालको कुपोषणमा बालबालिकाका पछाडिको भाग झोला जस्तो हुने, कपाल खुइलिने, भुँडी ठूलो हुने, ख्याउटे हुने, सुकेको जस्तो देखिने र तौल कम हुने गरेको छ। मध्यम खालको कुपोषण भएका बालबालिकामा उमेर अनुसार तौल कम हुने गर्दछ।

स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन कपिलदेव जोशीले धनी तथा गरिब सबै परिवारका बालबालिकामा कुपोषणको समस्या देखिएको बताए। ‘गरिब परिवारमा पोषणयुक्त खाना नपाएर कुपोषित हुन्छन् भने धनी परिवार पोषण युक्त खाना बढी खाएर पनि हुन सक्छन्’ उनले भने, ‘समग्रमा सन्तुलिन भोजनको व्यवस्थापन नहुँदा नै यो समस्या देखिन्छ।’

बालबालिकालाई न्यून पोषण भएमा ख्याउटे, पुड्को र उमेर अनुसार तौल नहुने तथा अधिक पोषण भएमा मोटापन हुने गरेको जोशीले बताए। पोषण सुधार हुँदै गएपछि पछिल्लो केही वर्षदेखि बाल मृत्युदर घट्दै गएको छ।

स्वास्थ्य कार्यालयका अनुसार नेपालमा २७ प्रतिशत बालबालिका ख्याउटे र १० प्रतिशत कम तौलका छन्। सुदूरपश्चिम प्रदेशमा ३५ प्रतिशत बालबालिकामा पुड्कोपना छ।

बलबालिकामा कुपोषण समस्या हटाउन डेढ दशकदेखि स्वास्थ्य संस्थामा ओटिसी सेवा सञ्चालनमा छ। कञ्चनपुरको सबैभन्दा ठूलो भीमदत्त नगरपालिकामा जिमुवा स्वास्थ्य चौकी र वसन्तपुर सहरी स्वास्थ्य केन्द्रमा मात्रै ओटिसी सेवा सञ्चालनमा छ।

महाकाली प्रादेशिक अस्पतालमा १६ वर्षदेखि पोषण पुनः स्थापन गृह सञ्चालन हुँदै आएको छ। पोषण पुनःस्थापन गृहका प्रमुख इन्द्रा भट्टले हालसम्म एक हजार ९८७ कुपोषित बालबालिकालाई उचार गरी घर पठाएको जानकारी दिइन्। स्वास्थ्य संस्थाबाट ओटिसी सेवा नपाएका बालबालिकालाई ३५ दिनसम्म गृहमा राखेर उपचार हुँदै आएको छ। गृहमा बालबालिका र आमालाई राख्ने गरिएको छ। पोषण गृहमा कडा खालको कुपोषण भएका बालबालिकालाई मात्रै राख्ने गरिएको छ। अहिले गृहमा १० बालबालिका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार