२ सय ७ जना पाकेटमार पक्राउ

पक्राउ

काठमाडौँ : सार्वजनिक यातायातमा पाकेटमारी तथा चोरी गने २ सय ७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले भदौ २५ देखि असोज १५ सम्म चलाएको सार्वजनिक सवारी साधन लक्षित विशेष अभियानका क्रममा उनीहरु पक्राउ गरेका हुन् ।

प्रहरीले सार्वजनिक सवारी साधन र बजारलगायत भिडभाड हुने ठाउँलाई केन्द्रीत गरेर सादा पोशाकका जनशक्ति परिचालन गरेको थियो । परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार सादा पोशाकका प्रहरीलाई यात्रुको भेषमा सार्वजनिक यातायातमा खटाइएको थियो । अभियान चलाउनु अघि प्रहरीले यातायात व्यवसायीहरुसँग छलफल गरेको थियो ।

खासगरी सार्वजनिक यातायातमा नगद, गरगहना, मोबाइललगायतका सामान हराएका उजुरी सर्वसाधारणबाट आउने क्रम बढेपछि प्रहरी अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगेको थियो । यो अवधिमा पक्राउ परेका मध्ये १ सय ६१ जना विरुद्ध अनुसन्धान भइरहेको र बाँकी ४६ जनालाई अनुसन्धान पूरा गरी मुद्दा दायर गरिएको परिसरले जनाएको छ ।

मुद्दा दायर भएका कतिपयलाई पुर्पक्षका क्रममा कारागार चलान भएको एसपी बस्नेतले बताए । प्रहरीका अनुसार पकेटमारहरु २/२ जनाको समूह बनाएर एउटा बसमा ६ जनासम्म प्रवेश गर्ने, त्यसपछि पकेट मार्ने यात्रुको पहिचान गरी घेराबन्दी पारेर ठेलमेल गरी सामान चोरेर बसबाट झर्ने शैली अपनाउने गरेको पनि खुलेको छ ।

पकेट मार्दा चोरले सांकेतिक भाषा प्रयोग गर्ने गरेका छन् । जस्तै, पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पाकेट पीडितलाई ‘रामे’, पाकेट मार्ने व्यक्तिलाई ‘काशी’, धेरै पैसा छ भन्न ‘टानको द’, थोरै पैसा उल्लेख गर्न ‘जुटको द’, गाडीलाई ‘काँचा’, केटा मान्छेलाई ‘छापा’, केटीलाई ‘भद्री’, पुलिस आयो भन्न ‘ठूल्दाई आयो’, ड्राभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भाग भन्न ‘टप्की’, गाडीभित्र अगाडि सर भन्न ‘अकल जा’ र पछि सर भन्न ‘चिछल जा’ जस्ता सांकेतिक भाषा पनि प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार