गठबन्धनविरुद्ध बोल्नेलाई पार्टीले कारबाही गर्ने भन्दै देउवाले दिए कार्यकर्तालाई चेतावनी

कांग्रेस कार्यकर्तालाई सभापति देउवाको चेतावनी : गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओलीलाई ज्ञानेन्द्र (पूर्वराजा ज्ञानेन्द्र शाह) बन्नबाट रोक्न पाँचदलीय गठबन्धन गरेको बताएका छन् । गठबन्धनले शनिबार जनकपुरधाममा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले पूर्वप्रधानमन्त्री ओलीले संघीयता, गणतन्त्र समाप्त गरी ज्ञानेन्द्र बन्न खोजेकाले त्यसविरुद्ध ऐतिहासिक गठबन्धन बनेको बताएका हुन् । गठबन्धनविरुद्ध बोल्ने नेता–कार्यकर्तालाई पनि कारबाही गर्ने उनको चेतावनी छ ।

‘जहाँ–जहाँ गठबन्धन छ, त्यहाँ कुनै एक पार्टीको उम्मेदवार होइन, त्यो साझा उम्मेदवार हो । ती उम्मेदवार जिताउनु नै अहिलेको आवश्यकता हो,’ देउवाले भने, ‘अहिले देशभरि गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेर साध्य छैन । कतै–कतै असन्तुष्टि होलान्, तर हामी सबै अनुशासनमा बस्नुपर्छ । गठबन्धनको विरोध सैह्य हुँदैन । गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ, धेरैलाई गरिरहेको पनि छ ।’

जनकपुरधाम उपमहानगरपालिका गठबन्धन दलबाट जसपाका मेयरमा लालकिशोर साह र उपमेयरमा कांग्रेसका किशोरी साह उम्मेदवार छन् । उनीहरूका लागि भोट माग्दै देउवाले भने, ‘यी दुवै उम्मेदवारको पक्षमा मतदान गर्ने र मत माग्ने पार्टीको निर्णय हो । पार्टीको निर्णयविरुद्ध जाने नेता–कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने अवस्था नआओस् ।’

संविधान, लोकतन्त्र र संघीयता रक्षाका लागि निर्माण भएको गठबन्धन स्थानीय तहमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म रहने घोषणा पनि गरे । जनकपुरधाममा परिवर्तन देखिएको बताउँदै देउवाले गठबन्धनको जित भए यहाँको विकासले तीव्रता पाउने पनि बताए । उनले अंगीकृत नागरिकका सन्तानले छिट्टै नागरिकता पाउने विश्वास पनि दिलाए । ‘नागरिकतासम्बन्धी ऐन तयार भइसकेको छ, अदालतको आदेशअनुसार त्यसलाई संसदबाट पार गरेर मात्रै दिन सकिन्छ,’ उनले भने, ‘एमालेको अवरोधका कारण संसद् चलिरहेको छैन । निर्वाचनपछि त्यस विषयलाई अगाडि बढाउँछौँ ।’

शनिबार नै  सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीको अत्याचारपछि पाँचदलीय गठबन्धन बनेको बताएका छन् । उनले लोकतन्त्रको स्थायित्वका लागि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह पनि गरे । पाँचदलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा देउवाले विरोध सहन नसक्ने ओलीले जथाभावी संसद्माथि आक्रमण गरेको बताए । संसद् भंग गरिदिने, कर्मचारी प्रशासन थर्कमान गराउनेदेखि जनता तर्साउने काम ओलीले गरेको आरोप उनले लगाए । ‘ओलीको अत्याचार भएपछि गठबन्धन बनेको हो,’ उनले भने, ‘कसैको विरोध सहन नसक्ने, कसैले विरोध गरे संसद् भंग गरिहाल्ने गरेकाले पनि यो गठबन्धन बनेको हो ।’

यसैगरी, प्रधानमन्त्री देउवाले शनिबार नै तनहुँको दमौलीमा आयोजित कांंग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । उनले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने भन्दै गठबन्धन टुटाउने प्रयास परास्त गर्नुपर्ने बताए ।  -नयाँ पत्रिकाबाट 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार