जति तपाई हाम्रो घर वरपर फोहोर मैला बढ्छ पानी जम्छ, उत्ति नै डेंगुको जोखिम बढ्छ (तथ्य र तथ्याङ्क सहित)

अहिले धनगढीमा पनि बिरामी बढ्दै

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामी
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामी

धनगढी : महामारीको रूपमा फैलिरहेको डेंगुको संक्रमण नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय कैलाली सक्रियता देखाएको छ । डेंगुको जोखिम दैनिक बढ्दै गएपछि स्वास्थ्य कार्यालयले विशेष सक्रियता अपनाएको हो ।

सो कार्यालयले शनिबार डेंगु रोकथाम तथा न्यूनीकरणका लागि पत्रकारसँग अन्तरक्रिया तथा छलफल गरेको छ । सङ्क्रमित लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगबाट बच्न घर वरिपरि सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले डेंगु रोगबाट बच्न सबैलाई आफ्नो घर वरिपरि सरसफाइ गर्न आग्रह गरेका छन् । उनले पानी जम्ने ठाउँमा लामखुट्टेको उत्पादन हुने गरेकाले त्यस्ता ठाउँको पानी सुकाउन वा बेला–बेला मट्टितेल/डिजेल छर्कनसमेत अनुरोध गरे ।

बट्टा, ट्याङ्की, ड्रम, प्लाष्टिक, टायर जस्ता ठाउँमा नियमित एक हप्ता पानी जमेमा डेंगु रोग सार्ने लामखुट्टेको वृद्धि हुने स्वास्थ्य कार्यालयका प्रमुख धामीको भनाई छ । एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले सुरक्षित रहन उनले आग्रह गरे ।

जमेको पानीमा एडिस जातको लामखुट्टे बस्ने र दिनमा मात्रै यसले संक्रमण फैलाउने भएकाले सुरक्षित रहन उनले बताए । डेंगुको संक्रमण भएमा पाँचदेखि सात दिनसम्म शरीर, टाउको तथा पेट दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्ने जस्ता साधारण लक्षण देखापर्ने उनको भनाई छ ।

यसैगरी खटिरा आउने, रक्तश्राव हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ।

सामान्य उपचारपछि बिरामी निको हुने भएपनि बेलैमा उपचार नगरेमा ज्यानै जान सक्ने भएकाले स्वास्थ्य कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै लामखुट्टेको वासस्थान खोजेर त्यसको नष्ट गर्ने अभियानसमेत भइरहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले जानकारी दिए ।

केही महिना अगाडि कैलालीको लम्कीमा डेंगुका विरामी धेरै बढेको थियो । तर अहिले धनगढीमा पनि बिरामी बढ्दै गएको उनले बताए । कैलालीमा गतवर्ष १५६ जनामा डेंगु रोग लागेको थियो । यसवर्ष साउन महिनासम्म ७१ जनामा डेंगु रोग लागेको पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कले देखाएको छ ।

यसैगरी कैलालीमा संक्रमणका कारण दुई जनाले ज्यान गुमाइसकेका छन् । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिका र धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको बताइएको छ ।

डेंगु रोग समबन्धि सम्पूर्ण जानकारी र नेपाल तथा कैलालीमा डेंगुको अवस्था कस्तो छ ? हेर्नुहोस् :

Dangue-kailali

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार