लेखक आचार्य कारण सहित लेख्छन्, ‘शताब्दी पुरुषको निधनमा सार्वजनिक बिदा, कर्मकाण्डी शोक दिवस’

लेखक आचार्यले कारण सहित भने, 'शताब्दी पुरुषको निधनमा सार्वजनिक बिदा, कर्मकाण्डी शोक दिवस'

धनगढी : नेपाली पत्रकारिताका विषयका अध्येता तथा आम सञ्चार र पत्रकारिता अध्ययन पुस्तकका लेखक भानुभक्त आचार्यले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज (मङ्गलवार) सार्वजनिक बिदा दिनु कर्मकाण्डी शोक दिवस भएको बताएका छन् ।

उनले सत्य मोहन जस्तो महान व्यक्ति सृष्टिकर्ता ब्रह्माजीले दिएको १०० वर्ष आयुभन्दा पनि तीन वर्ष बढी गौरवपूर्ण जीवन बाँचेर गएको व्यक्तित्वको महाप्रस्थानमा शोक गर्नु पर्ने कारण के छ ? भनी प्रश्न गर्दै जसले नेपाली भाषा साहित्य र संस्कृतिका लागि दर्जनौँ कृतिहरू दिएर गयो, जसले उत्कृष्ट कृति दिएबापत तीन पटक त मदन पुरस्कार नै पायो, जसले जीवनको अन्तिम घडीसम्म सक्रिय र अर्थपूर्ण जीवन बाँच्यो, जसले यो देशका करोडौँ मानिसलाई देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह, ऊर्जा र आँट भरेर गयो । त्यस्तो महान् व्यक्तित्व पाएकोमा हामीले त उहाँको सम्झनामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर उहाँप्रति कृतज्ञता व्यक्त गर्नु पर्ने बताएका छन् ।

यस्ता छन्, आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएका शताब्दी पुरुष जोशीको निधनमा सरकारले दिएको सार्वजनिक बिदा कर्मकाण्डी भन्नुका पछाडि आचार्यले सार्वजनिक गरेका पाँच कारण ?

आचार्यको फेसबुकबाट साभार कारण जस्ताको त्यस्तै:

कर्मकाण्डी शोक दिवस 
१. आज सरकारले सार्वजनिक बिदा दियो सत्यमोहन जोशीको निधनमा शोक मनाउन । श्रृष्टिकर्ता ब्रह्माजीले दिएको १०० वर्ष आयुभन्दा पनि तीन वर्ष बढी गौरवपूर्ण जीवन बाँचेर गएको व्यक्तित्वको महाप्रस्थानमा शोक गर्नु पर्ने कारण के छ ? जसले नेपाली भाषा साहित्य र संस्कृतिका लागि दर्जनौ कृतिहरू दिएर गयो, जसले उत्कृष्ट कृति दिएवापत तीन पटक त मदन पुरस्कार नै पायो, जसले जीवनको अन्तिम घडिसम्म सक्रिय र अर्थपूर्ण जीवन बाँच्यो, जसले यो देशका करोडौं मानिसलाई देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह, ऊर्जा र आँट भरेर गयो । त्यस्तो महान व्यक्तित्व पाएकोमा हामीले त उहाँको सम्झनामा विभिन्न कार्यक्रमहरूको आयोजना गरेर उहाँप्रति कृतज्ञता व्यक्त गर्नु पर्ने होइन ?
२. एक दिन शोक मनाउन गरिएको सरकारी बन्दले देशमा कति आर्थिक क्षति हुन्छ ? कुनै हिसाबकिताब छैन । कति सेवाग्राहीले आफ्नो महत्वपूर्ण समय बेकारमा खेरफाल्छन् । के यो सबै शोकको जिम्मा सरकारी कर्मचारीले लिइदिए पुग्ने हो ? मानौं, यो देशका अरुलाई जोशीको महाप्रस्थानको कुनै महत्व छैन ? सरकारी कर्मचारीलाई मात्र दिइने बिदाले राष्ट्रिय शोक मनाएको अर्थ लाग्छ ? लाग्दैन ।
३. प्रभावकारी रुपमा शोक मनाउने हजारौं तरिका छन् । जोशीका परिवार बाहेकका लागि यो शोक प्रतिकात्मक मात्रै हो । त्यसैले राष्ट्रिय झन्डा आधा झुकाएर, विभिन्न सरकारी÷गैह्रसरकारी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गरेर, शोक पुस्तिकामा हस्ताक्षर गरेर, दिनभरिको कुनै एक समयमा मौन धारण गरेर शोक मनाउन सकिन्छ । सरकारी कर्मचारीलाई बिदा दिए पछि यी कुनै कुरा सरकारका तर्फबाट हुँदैनन् । जनताको करको मूल्य चुकाएर बिदा दिने जस्तो कुरा सबैभन्दा कर्मकाण्डी र बेवकुफ तरिका हो ।
४. सरकारी कर्मचारीलाई बिदा दिएर शोक कसरी मनाइन्छ ? के सबै कर्मचारी छुट्टी लिएर दिनभरी नदी किनार वा मन्दिर आदिमा शोक वा पिण्डदानमा सहभागी हुन जाने हुन् ? कि एक दिनको किरियापुत्रीको भूमिका सरकारी कर्मचारीले निभाउनु पर्ने हो ? जसको नाममा बिदा दिइएको छ, त्यसको तस्बिरमा माल्यार्पण गर्ने वा एक मिनेट मौन धारण गर्ने फूर्सद् कुनै सरकारी कर्मचारीले पाउला ? छुट्टी पाएका कर्मचारीले शोक होइन, अझ जुवातास खेलेर, जाँड रक्सी खाएर मस्ती गर्छन् । त्यो शोक होइन, मजाक हो ।
५. कदाचित बिदा दिनै परेछ भने पनि सप्ताहन्तको छेको पारेर शुक्रबार वा आइतवार दिन सकिन्छ । यसले बिदा बस्नेलाई पनि नियमित विदासँगै थप एक दिन परिवारसँग बस्न समय पुग्छ । उदाहरणका लागि बेलायतकी रानी एलिजाबेथको निधन हुँदा क्यानडामा शुक्रबार संघीय सरकारका कर्मचारीलाई बिदा दिइयो । तर, त्यो बिदा प्रान्तीय र स्थानीय सरकारले मानेनन् । अन्टारियो प्रान्तका प्रमुखले त बिदा दिएर होइन, उनलाई सम्झेर काम गरेर शोक मनाउने हो भने । विद्यालयहरू एकैदिन पनि छुट्टी भएनन् ।
हामी सायदै १०३ वर्षसम्म बाँचौला । हामीमध्ये कमैले मात्र सत्यमोहन जोशीको जस्तो राष्ट्रका लागि योगदान गर्न सकौंला । तसर्थ, उनको जस्तो ऊर्जावान् जीवन बाँच्नका लागि त कार्यलय समयमा मात्रै होइन, हरेक छुट्टीमा पनि सक्रियतापूर्वक काम गर्नुपर्छ । “हामी सबैको काम जोशी एक्लैले गरेर गए । अब हामीलाई हाइसञ्चो” भनेर छुट्टी दिएको त होइन होला नि । कर्मकाण्डी सोच बदलौ । देश उसै बदलिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार