आज लक्ष्मी पूजा मनाइँदै, ढुक्क भएर चारैतिर झिलिमिली पार्न प्राधिकरणको आग्रह

विद्युत् प्राधिकरण

काठमाण्डाै: यमपञ्चक अन्तर्गत आज साेमवार धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घर–घरमा सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । 

आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा शृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दीपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । 

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । 

यसैबीच यस पटकको तिहारमा बिजुली बत्तीको सहज आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्मीपूजाको दिन आज बेलुका बिजुलीको व्यवस्थापनमा चाप नपर्ने बताउनुभयो । उहाँले ढुक्क भएर चारैतिर झिलिमिली पार्न पनि आग्रह गर्नुभएको छ । 

नेपालमा अहिले उत्पादन नै १८ सय मेगावाट आसपास रहेको र लक्ष्मी पूजामा मुस्किलले १३ सय मेगावाट माग हुने भएकोले व्यवस्थापनमा कुनै समस्या नहुने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार