प्रियंका चोपडाले जितेको मिस वर्ल्ड उपाधि २२ वर्षपछि विवादमा

प्रियंका चोपडा

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सन् २००० मा जितेको मिस वर्ल्डकाे उपाधि विवादमा तानिएको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनलाई २२ वर्ष अगाडि मिलेमतोमा मिस वर्ल्डको उपाधि जितेको आरोप लागेको छ।

प्रियंकाविरुद्ध पूर्वमिस बार्बाडोस तथा युट्युबर लिलानीले आरोप लगाएकी हुन्। उनले प्रियंकासँग मिस वर्ल्ड २००० मा प्रतिस्पर्धा गरेकी थिइन्। 

लिलानीले एक भिडिओ सार्वजनिक गर्दै प्रतियोगिताको क्रममा प्रियंकालाई विशेष अधिकार दिएको बताएकी छन्।

यतिबेला अमेरिकामा मिस युएसए विवादमा छ। सौन्दर्य प्रतियोगिता मिलेमतोमा हुने चर्चा चलेसँगै उनले आफ्नो अनुभव साझा गरेकी हुन्।

‘मिस वर्ल्डमा मैले पनि यस्तै कुरा भोगेँ। म मिस बार्बाडोस थिएँ, जुन वर्ष मिस इन्डियाले उपाधि जितेकी थिइन्। त्यतिबेला प्रायोजक पनि भारतीय नै थिए। प्रियंका एक मात्र प्रतिस्पर्धी थिइन् जसलाई सारोङ (कम्मरमा बाँधिने स्कार्फजस्तै एक लुगा) लगाउन अनुमति पाएकी थिइन्। छालाकाे रंगलाई गाेराे बनाउन कुनै क्रिम लगाएको कारण सारोङ बाँधेको जवाफ उनले दिएकी थिइन्। यसकारण उनले स्वीमसुट राउण्डमा सारोङ लगाएकी थिइन्,’ उनले भनिन्।

उनले प्रियंकालाई विशेष अधिकार दिएको बताउँदै भनिन्, ‘सबै प्रतिस्पर्धीलाई एकै ठाउँमा आएर खाना खाने व्यवस्था थियो। तर प्रियंकालाई आफ्नै कोठामा खाना पुर्याइन्थ्यो। उनले जित्नुभन्दा अगाडि नै समुन्द्र किनारमा फोटोशूट गरेकी थिइन्।’

लिलानीको अनुसार ड्रेस डिजाइनरले प्रियंकाकाे नापकै ड्रेस डिजाइन गरेकी थिइन् भने बाँकी प्रतिस्पर्धीको ड्रेस फिट थिएन। 

यतिबेला लिलानीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रियंका हालै मुम्बई फर्किएकी छन्। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार