रेशम चौधरी भन्छन्- ‘टीकापुर घटनाको कथा अर्कै थियो, पटकथा अर्कै लेखियो र फिल्म अर्कै बन्यो’ 

रेशम चौधरी भन्छन्- 'टीकापुर घटनाको कथा अर्कै थियो, पटकथा अर्कै लेखियो र फिल्म अर्कै बन्यो' 

जेलबाट सोमबार रिहा भएका रेशम चौधरीले टीकापुर घटनाका दोषीले सजाय नपाएको बरू राज्यले पुरस्कृत गरेको बताएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी आइतबार बिहान सवा आठ बजे डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

उनले टीकापुर घटनाको सत्यतथ्य पत्ता लगाउन धरातलमा गएर उच्चस्तरीय छानबिन कमिटी बनाइनुपर्ने बताए।

‘टीकापुर घटनामा सहादत प्राप्त गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली छ, उहाँहरूले न्याय पाउनुपर्छ। पीडित परिवार र हामीबीच अन्तरक्रिया गरिनुपर्छ,’ उनले भने, ‘उहाँहरू हामीलाई दोषी देख्दै हुनुहुन्छ, हामी भन्दैछौं– जो दोषी छ, उसले सजाय पाउँदै पाएन। जो दोषी छ ऊ त मन्त्री बन्यो, जो दोषी छ, उसलाई त राज्यले पुरस्कार, उपहार दियो। यस्तो दुर्भाग्यपूर्ण घटना नहोस्, उहाँहरू जस–जसलाई याचना गर्दै हुनुहुन्छ, कतै पीडा दिनेकै घर त ढक्ढक्याइरहनुभएको त छैन?’

उनले टीकापुर प्रकरण कुनै बन्द कोठामा गरिएको घटना नभएको भन्दै हजारौं आँखाहरूले साक्षात् रूपमा देखेको बताए। 

‘कसले कसलाई मार्‍यो? कसले कसलाई भाला रोप्यो? कसले कसलाई खुकुरीले छप्कायो? त्यो स्थानीय प्रतिवेदन र नांगा आँखाले देखेका साक्षीहरूले बोल्लान्, मलाई रिहा गरेकोमा सरकारालाई धन्यवाद!,’ उनले भने, ‘टीकापुर घटनाको कथा अर्कै थियो, पटकथा अर्कै लेखियो र फिल्म अर्कै बन्यो।’

उनले पोलेकै भरमा, कसैले भनेकै भरमा घटनामा दुर्भाग्यपूर्ण फैसला गरिएको पनि बताए।

उनले टीकापुर घटनामा सयौं चेलीहरू हिंसामा परेको बताए। ८०–९० वर्षका वयोवृद्धहरूलाई पनि यातना दिइएको र थारूहरूको श्रीसम्पत्तिमा आगो लगाइएको बताउँदै घटनाको न्यायोचित छानबिन गर्दा दुवै पीडित पक्षलाई मल्हम लागेको अनुभूति हुने पनि बताए।

उनले टीकापुर घटनाबारे छानबिन गर्न बनेको गिरिशचन्द्र लाल नेतृत्वको समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरे।

‘अदालतको आदेश मानेर हामी जेल बस्यौं, सरकारलाई अदालतको आदेश मान्ने केको अप्ठ्यारो? लाल आयोगको प्रतिवेदनमा के रहस्य छ त्यस्तो? अविलम्ब सार्वजनिक गरिनुपर्छ,’ उनले भने।

जेलबाट रिहा भएलगत्तै रेशम चौधरी पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका छन्। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार