मालिका मा.वि. भटनाको सातौँ प्रधानाध्यापकमा हरिचन्द्र भट्ट सर्वसम्मत नियुक्त 

मालिका मा.वि. भटनाको सातौँ प्रधानाध्यापकमा हरिचन्द्र भट्ट सर्वसम्मत नियुक्त 

बैतडी : बैतडीको मालिका माध्यमिक विद्यालय भटनाको प्रधानाध्यापकको जिम्मेवारी हरिचन्द्र भट्टलाई दिइएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा. नं. ४ मा अवस्थित उक्त मा.वि. को प्रधानाध्यापकमा भट्टलाई सर्वसम्मत रूपमा बिहीबार नियुक्त गर्ने निर्णय गरिएको हो । 

केही दिन अगाडी मात्रै उक्त विद्यालयका प्रधानाध्यापक कृष्णानन्द भट्ट अनिवार्य अवकाश (निवृत्त भरण)मा जानुभएको हुँदा सोही विद्यालयमा नि.मा.वि. राहत कोटामा कार्यरत अङ्ग्रेजी विषयका शिक्षक हरिचन्द्र भट्टलाई प्रधानाध्यापकमा नियुक्त  गरिएको छ । 

वि.सं २०१६ सालमा स्थापना भएको उक्त विद्यालयले यस अघि छ जना प्रधानाध्यापक पाई सकेको छ भने हरिचन्द्र भट्ट सातौँ प्रधानाध्यापकको रूपमा जिम्मेवारी ग्रहण गर्नु भएको छ । 

मालिका मा.वि व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश भट्टको अध्यक्षतामा बसेको बैठकमा पुर्चौडी नगरपालिका वडा नं. ४ का अध्यक्ष दिल बहादुर धानुक (विकास) तथा वडा सदस्यहरू, वडा नं. ३ का वडा अध्यक्ष एवं मालिका माविका पूर्व शिक्षक खगेन्द्र बोहरा तथा वडा सदस्यहरू, विद्यालयका अन्य शिक्षक, शिक्षिका तथा कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, अभिभावक, विद्यार्थिहरु, पूर्व विद्यार्थिहरु लगायत विद्यालय सँग सरोकार राख्ने सम्बन्धित सबैको उपस्थिति र सर्वसम्मतिमा भट्टलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरिएको हो । 

प्रधानाध्यापक भट्ट २०६०/०९/१ गते देखी शिक्षा क्षेत्रमा कार्यरत रहनुभएको छ । शैक्षिक क्षेत्रमा सुरुवात भने भट्टले २०६० देखी २०६३ भदौ ५ गते सम्म सोही वडाको पहरौल मावि बागा, भटनामा निजी स्रोत शिक्षकका रूपमा प्रवेश गर्नु भएको थियो । २०६५ साउन ३१ गते देखी नि.मा.वि राहत कोटामा मालिका मावि भटनामा कार्यरत भट्टले २०६३ ज्येष्ठ २३ देखी २०६३ असार २३ गते सम्मको एक महिने अवधिमा, एक महिने प्र.अ. व्यवस्थापन तालिम समेत लिई सक्नुभएको थियो । भने उहाँले बि.एड मा.बि लाइसेन्स पनि प्राप्त गरिसक्नु भएको छ । 

यस्तै, भट्टले सर्वसम्मत रूपमा प्रधानाध्यापक जिम्मेवारी प्रदान गर्न सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरूमा धन्यवाद ज्ञापन गर्नु भएको छ । भने मालिका मा.वि. को शैक्षिक सुधारका निम्ति सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक-शिक्षिका लगायत सम्बन्धित सबैमा आ-आफ्नो क्षेत्रबाट आवश्यक, सकारात्मक सुझाव, सल्लाह एवं सहयोग गर्न आह्वान गर्नु भएको छ । 

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश भट्टले प्रधानाध्यापकको जिम्मेवारी प्राप्त गर्नु भएका हरिचन्द्र भट्टलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई विशेष गरी वडा.नं ३ र ४ का वडा अध्यक्षहरू शिक्षक, कर्मचारी, अभिभावक शुभेच्छुक सम्पूर्ण शिक्षा प्रेमीहरूलाई धन्यवाद दिँदै मालिका मा.वि को समग्र विकासका निम्ति सहयोग गर्न आह्वान गर्दै शैक्षिक सुधारमा प्रधानाध्यापकले चाल्ने हरेक कदममा पूर्ण रूपमा साथ समर्थन गर्ने प्रतिबद्धता गर्नुभएको छ । 

त्यसै गरी कार्यक्रममा उपस्थित वडा नं. ३ का अध्यक्ष बोहरा र वडा नं. ४ का वडा अध्यक्ष धानुकले उक्त विद्यालय दुइटै वडा सँग जोडिएको र ठुलो भूगोलका विद्यार्थीहरूलाई ज्ञानको ज्योति प्रदान गरिरहेको उल्लेख गर्दै आ-आफ्नो वडा कार्यपालिकाबाट हुने सम्पूर्ण सहयोग समर्थन रहने प्रतिबद्धता गदै नव नियुक्त प्रधानाध्यापक हरिचन्द्र भट्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ । 

  • विद्यालयको पृष्ठभूमि

यो विद्यालय बैतडी जिल्ला साबिकको (भटना गा.वि.स. वार्ड नं.७) र हालको पुर्चौडी नगरपालिका वडा नंं ४ मा अवस्थित भगवान मालिका माताको मन्दिरको नामले नामाकरण गरिएको छ ।

नेपालको सुन्दर सुदूरपश्चिमको बैतडी जिल्लामा साबिकको (भटना गा.वि.स. वार्ड नं.७) र हालको पुर्चौडी नगरपालिका वडा नंं ४ भटना गाउँमा अवस्थित रहेको यस श्री मालिका मा.वि. भटनाको स्थापना २०१६ सालमा भएको हो । 

यस विद्यालयको पूर्वमा धौलपाटा मन्दिर पश्चिममा महादेव देवताको मन्दिर, दक्षिणमा मालिका देवीको मन्दिर र उत्तरमा साबिकको (न्वादेउ गा.वि.स. वार्ड नं. ३) हालको पुचौंडी नगरपालिका वडा नं. ३ र  वडा नं. ४ भटनामा रहेको छ । यो विद्यालय २ वटा वडा न्वादेउ र भटनाको सिमानामा अवस्थित छ । यस विद्यालयमा खेलमैदानको लागि विद्यालयको आफ्नै नाममा रहेको ठुलो ग्राउण्ड र वरपर हराभरा जङ्गल रहेको छ । तत्कालीन समयमा यस ठाउँका बालबालिकाहरूलाई प्राथमिक शिक्षा दिने उद्देश्यले हाल पु.न.पा वार्ड नं. ३ बस्ने भैरव बहादुर बोहराका हजुरबुवा जोगी बोहराको अगुवाइमा यस विद्यालयको सुरुवात गरी आफ्नै लगानी र गाउँबाट चन्दा सङ्कलन गरी शिक्षक भर्ना गरी अध्यापन कार्य सुरु गर्नुभएको थियो । 

त्यति बेला सम्पूर्ण देशको शैक्षिक अवस्था एकदमै कमजोर रहेकाले यो ठाउँ पनि त्यति बेला सम्पूर्ण देशको अछुतो रहन सकेन पढेलेखेका मानिसहरू नभएकाले तत्कालीन समयमा यस विद्यालयका संस्थापक स्व. जोगी बोहराले डुगे पण्डित नाम गरेका एक जना शिक्षक भारतका पिथौरागढबाट झिकाई यस विद्यालयमा नियुक्त गर्नु भएको थियो । विद्यार्थीहरूको चाप बढी भएकाले आफ्नै धर्म सिंह बोहरालाई समेत नियुक्ति गरिएको थियो । करिब ४, ५ वर्षको अन्तराल पछि २०१६ सालमा यस विद्यालयले प्रा.वि. तह कक्षा १ को स्वीकृति जिल्ला शिक्षा कार्यालय बैतडीबाट प्राप्त गर्‍यो । 

त्यस वेला यस विद्यालयमा शिक्षक काल बहादुर बम, लोक बहादुर बम र धनिविर भट्ट त्यस बेला यस विद्यालयमा शिक्षक काल बहादुर बम र लोकबहादुर पहिलो पल्ट सरकारी दरबन्दीमा नियुक्त भए । त्यसपछि वि.सं. २०१७, २०१८, २०१९, २०२०, सालमा कमशः कक्षा २,३,४ र ५ को स्वीकृति प्राप्त गरेको थियो । 

देशमा शिक्षाको अवस्थालाई सुदृढ गर्न शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन पहिलो पल्ट नेपालको राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ लागु भयो । त्यस योजनाको नीति अनुसार कक्षा १ देखि कक्षा ३ सम्म प्रा. वि. तह सञ्चालन गर्नु पर्ने भएकाले यो विद्यालयले नि.मा.वि. तह सञ्चालन गर्न नसकेको र तत्कालीन समयमा विभिन्न परिस्थितिले गर्दा २०३२ सालमा कक्षा ४ र ५ को पठन पाठन छोड्नु पर्ने अवस्था आइपुग्यो र कक्षा १ देखि ३ सम्मको प्रा.वि. तहमा पढाई हुन थाल्यो ।

वि.स. २०३४ सालमा यस विद्यालयमा वि.व्य.स. का अध्यक्ष स्व. बलदेव बोहरा हुनु भयो । उहाँको पहलमा २०३४ सालमा कक्षा ४ र २०३५ सालमा कक्षा ५ को कक्षा सञ्चालनको फेरी अनुमति प्राप्त भयो । नि.मा.वि. तह कक्षा ७ सम्म कक्षा सञ्चालन गर्ने प्रयास भए ता पनि तत्कालीन परिस्थितिले गर्दा नि.मा.वि तह सञ्चालन हुन सकेन। २०३५ देखि २०६२ सम्म लगभग २८ वर्ष सम्म यस विद्यालयमा कक्षा ५ को मात्र पढाई भयो । 

शैक्षिक सत्र २०६२ सालमा तत्कालीन वि.व्य.स. का अध्यक्ष प्रेम सिंह बोहरा तथा सदस्यहरू र प्र.अ. श्री राम बहादुर बोहराको अगुवाइमा वि.व्य.स. र अभिभावकहरूको बैठक बोलाई नि.मा.वि. तह का कक्षा ६ को अनुमतिको लागि निर्णय समेत गराई चन्दा सङ्कलन गरी शैक्षिक सत्र २०६३ जेठ १० गते कक्षा ६, २०६४ वैशाख ३ गते कक्षा ७, २०६६ वैशाख १६ गते कक्षा ८ सञ्चालन गर्ने अनुमति. जि.शि.का बैतडीबाट प्राप्त भयो ।

विद्यालयमा विद्यार्थीहरू चाप एकदमै बढी भएकाले २०६४ सालमा नि.मा.वि. तहमा २१ प्रा.वि. तहमा १ राहत शिक्षक नियुक्ति भए । हाल यस विद्यालयमा स्थायी, राहत, नि.मा.वि. र शिशु शिक्षक र एक जना कार्यालय सहयोगी एक जना परिचर रहेका छन् ।

त्यस्तै, समग्र देशको शैक्षिक विकास क्रम, शिक्षा नीति, त्यहाँको भगौलिक अवस्था र विद्यार्थिहरुको चापलाई मध्यनजर गर्दै हाल उक्त विद्यालयमा माध्यमिक तह कक्षा १२ सम्मको पठनपाठन हुँदै आइरहेको छ । 

  • भौगोलिक अवस्था

यो विद्यालय समुद्री सतह वाट करिब २०३४ मिटरको उचाइमा छ । नक्साङकनको आधारमा यो विद्यालय अक्षांश २९.६२००८ डिग्री र देशान्तर ०८०.७३६५६ डिग्री रहेको छ । पहाडको पनि उच्च पहाडी भाग भएकाले यहाँको हावापानी प्रायः चिसो नै छ । हिउँदमा अत्यन्तै जाडो हुने गर्दछ । भने गर्मी याममा पनि त्यति साहो गर्मी हुँदैन । हिउँदमा प्राय जसो हिउँ पर्ने भएकाले हिउँ परेको समयमा विद्यालयमा पठन पाठनमा समस्या आउँछ । पहाडी भाग भएकाले बाटो घाटकोको पनि समस्या छ । 

वर्षा याममा खोलानालाको पानी बढ्ने र पहिरो जाने समस्याले १ महिना वर्षे बिदा गर्नु पर्ने हुन्छ । यो विद्यालयको सेवा क्षेत्र ठुलो भएकाले टाढा टाढाबाट विद्यार्थीहरू आउने गर्दछन् । करिब १ देखी २ घण्टा हिँडेर आउनु पर्ने भएकाले बालबालिकाहरू समयमा विद्यालयमा हाजिर हुन सक्दैनन् । यो विद्यालयबाट मोटर बाटो सम्म पुग्न पहिले करिब ३ घण्टा हिँड्नु पर्ने स्थिति थियो भने हाल २०८० साल सम्म कच्ची मोटर बाटोले विद्यालय छोएको छ यद्धपी उक्त बाटो निरन्तर मोटर चल्ने खालको अवस्थामा पुगिसकेको छैन । 

श्री मालिका मा.वि भटना बैतडी

यो विद्यालय पहाडको पनि एकदमै दुर्गम ठाउँमा र उच्च पहाडी भागमा रहेकाले चैत्र वैशाखमा हावा हुरीले पनि निकै सताउने गर्दछ । विद्यालयका भवनका छाना समेत उडाउने गर्दछ भने हिउँदमा चिसो हावा बहने हुनाले विद्यालयमा निकै चिसो हुन्छ। 

भौगोलिक दृष्टिले यो विद्यालय रहेको ठाउँ एकदमै रमणीय र सुन्दर छ यो क्षेत्र धार्मिक पर्यटनको पनि केन्द्र विन्दु भएको स्थानमा अवस्थित छ ।  पहाडको टुप्पोमा भएता पनि स्कुल रहेको ठाउँ एकदमै सम्म छ वरपर हराभरा हरियाली जङ्गल र एकान्त ठाउँ छ । 

यो विद्यालय गाउँबाट पनि टाढा र यहाँको स्थानीय बजारबाट टाढा रहेकोले विद्यालयमा शान्त वातावरण र बालमैत्री वातावरण रहेको छ । विद्यालयको वातावरण राम्रो भए पनि यहाँका बालबालिका तथा शिक्षकहरूलाई खाने पानीको एकदमै समस्या छ। यस विद्यालयमा २ वटा चर्पी भएता पनि पानीको समस्याका कारण निरन्तर प्रयोगमा आउन भने सकेको छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

94%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

6%

आक्रोशित

सम्बन्धित समाचार