४ वर्षअघि शिलान्यास गरिएका बैतडीका ७ स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य सुस्त

४ वर्षअघि शिलान्यास गरिएका बैतडीका ७ स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य सुस्त

बैतडी : चार वर्षअघि शिलान्यास गरिएका बैतडी जिल्लाका सात वटा स्थानीय तहका स्वास्थ्य संस्था तथा अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । सञ्चालनमा रहेका कतिपयमा त मौजुदा सिटामोललगायतका अत्यावश्यक औषधी र स्वास्थ्यकर्मीसमेत छैनन् । पाटन नगरपालिकाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । यस स्वास्थ्य केन्द्रमा करारमा कार्यरत मेडिकल अधिकृत डा. अस्मिता नेगी अध्यययन गर्ने नाममा राजीनामा दिएर हिँड्नुभएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राही समस्यामा परेका छन् । स्थानीय तहको पुनर्संरचना भएको करिब सात वर्ष बितिसक्दा पनि १० शय्या र १५ शय्याका पालिकास्तरीय अस्पताल निर्माण तथा सञ्चालनको काम अलपत्र छ । 

त्यस्तै कतिपय स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी अभाव देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । अनुगमनका क्रममा सिगास गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधी अभाव देखिएको उहाँले बताउनुभयो । 

कतिपय पालिकाको कार्यालयमा औषधी भेटिए पनि स्वास्थ्य संस्थामा भने औषधी नभेटिएको उहाँले बताउनुभयो । पुर्चौडी नगरपालिकामा शिलान्यास गरिएको १५ शय्याको अस्पताल अलपत्र अवस्थामा छ । 

पालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले अस्पतालसँगै सञ्चालनमा रहेका स्वास्थ्य संस्था व्यवस्थापन गर्न गाह्रो भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “चालु वर्षको मङ्सिरसम्म स्वास्थ्यकर्मीले तलब खानेबाहेक कुनै काम गर्न सकेका छैनन् ।”

सम्बन्धित कार्यालयमा नियमित रूपमा कार्यरत कर्मचारीले अख्तियारी नपाउँदा आमा सुरक्षा कार्यक्रम, पोषण सुधारका कार्यक्रम, न्यानो झोला वितरण, सुत्केरी महिला स्याहार जस्ता कार्यक्रम ओझेलमा परेको जानकारी उहाँले दिनुभयो ।   

स्थानीय तहमै स्वास्थ्य सेवा विस्तार गर्न पुर्चौडी, पाटन, डिलासैनी, दोगडाकेदार, शिवनाथ, पञ्चेश्वर र सुर्नया पालिका गरी सात स्थानीय तहमा चार वर्षअघि १० शय्या र १५ शय्याका अस्पताल निर्माणका लागि एकै दिन शिलान्यास गरिएको थियो । तीमध्ये दोगडाकेदार गाउँपालिकाले मात्रै भवन निर्माणको काम अघि बढाएको छ । बाँकीले बजेट अभाव देखाउँदै निर्माण कार्यमा कुनै सुरसार गरेका छैनन् । लक्ष्य अनुसार पुर्चौडी नगरपालिकाको न्वादेउ स्वास्थ्यचौकी १५ शय्या र पाटन नगरपालिकाको पाटन प्राथमिक स्वास्थ्य केन्द्र १५ शय्याको छ । 

त्यस्तै डिलासैनी गाउँपालिकाको डिलासैनी स्वास्थ्य चौकी १० शय्या, दोगडाकेदार गाउँपालिकाको सित्तड स्वास्थ्य चौकी १० शय्या, पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकी १० शय्या, शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्य चौकी १० शय्या र सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकी १० शय्याको बनाउने गरी शिलान्यास गरिएको थियो ।   

बजेट अभावकै कारण पालिकामा निर्माणाधीन अस्पताल अलपत्र परेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “१० शयाको अस्पतालका लागि १० करोड ८३ लाख रुपियाँ आउँछ भनिएको थियो । त्यही अनुसार पालिकास्तरीय अस्पताल शिलान्यास गरेका थियौँ ।” अस्पतालको जग हाल्ने काम भए पनि निर्माण पूरा हुने गरेर बजेट नै नआएको भनाइ उहाँको छ । “ भएका स्वास्थ्य संस्था सञ्चालन गर्नसमेत बजेट अपुग छ । अस्पताल भवन बनाउन बजेट नै छैन,” उहाँले भन्नुभयो । –गोरखापत्र अनलाईनबाट साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार