अमिलो डकार आउने, छातीको माझमा दुख्ने-पोले झै हुने, के ग्याष्ट्रिक नै हो ?

ग्याष्ट्रिक

पेट दुख्ने, फुल्ने, असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने, छातीको माझमा दुख्ने समस्या लिएर धेरैजना अस्पताल आउने गर्छन् । यस्तो समस्या देखिनसाथ हामी ‘ग्याष्ट्रिक भयो’ भन्छौं ।

तर, सबै अवस्थामा यो ग्याष्ट्रिक नहुन सक्छ ।

के त्यसो भए यो अल्सरको कारण हो त ? कतिपय यस्तो प्रश्न पनि गर्छन् ।

अल्सर हुँदा पेटको दुखाई बढ्छ, कतिपयलाई बान्ता हुन्छ, खान मन लाग्दैन । यो समस्या बढ्दै गएमा दिसा कालो पनि हुन्छ । तर, सबैमा ग्याष्ट्रिक र अल्सरका लक्षण यस्तै नहुन पनि सक्छ । यसो भनिरहँदा पेटका हरेक समस्या ग्याष्ट्रिक र अल्सर मात्र हुँदैनन् ।

कति बिरामी ग्याष्ट्रिक र अल्सर नभएर पेट एवं खाना नलीलाई असर गर्ने समस्याबाट ग्रसित हुन्छन् । तर, साधारण ग्याष्ट्रिक भनेर उपचारका लागि चक्कर लगाइरहेका हुन्छन् । जबकि यो फरक समस्या पनि हुनसक्छ ।

सामान्यत आमाशयले एसिड पैदा गर्छ । यो एसिडले खानेकुरा पचाउन र किटाणुबाट बचाउन मद्दत गर्छ । तर, जब यो एसिडको मात्रा धेरै हुन्छ, कसैको खानानली र पेट जोड्ने भाग खुकुलो भएर आउँछ । यतिबेला पेटको एसिड छाती वा घाँटीसम्म आइपुग्छ । त्यसलाई रिफ्लक्स (ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज) भनिन्छ । यस्तो किन हुन्छ त ?

यसमा एउटा मात्र जवाफ छैन । जस्तो कहिले काहीँ पेटको एसिड बढाउने खानेकुरा खाइएको बेला, कहिले खानसाथ सुतेको अवस्थामा, कहिले लामो समयसम्म खाली पेट बसको अवस्थामा एसिड बढ्ने वा घाँटीतरि आउने हुनसक्छ ।

यस्तो अवस्थामा घाँटी पोल्ने, घाँटीमा केही अड्किए जस्तो हुने, केहि चिज खाएपछि अमिलो डकार आउने, अमिलो पानी आउने, सुख्खा खोकी लाग्ने आदि समस्या हुन्छ । खासगरीी सुतेको बेला वा बिहानीपख यस्तो समस्या बढ्छ ।

यसको मूल जड भनेको खराब खानपान नै हो । चिल्लोचाप्लो, मसलेदार, जंकफुड, माछामासु धेरै खाएमा सहजै पच्दैन । त्यसैगरी मदिराले पनि यसमा थप समस्या ल्याउँछ । मानसिक चिन्ता, तनावले पनि पेटमा समस्या पैदा गर्छ । जथाभावी खानपान गर्ने युवाहरु, मोटोपन भएका व्यक्ति आदि समेत यस्ता समस्याबाट ग्रसित भइरहेका हुन्छन् ।

प्राय रिफ्लक्स भएका व्यक्तिहरु ‘ग्याष्ट्रिक’ भनेर उपचार खोजिरहेका हुन्छन् । समस्याको सही पहिचान नहुँदा ग्याष्ट्रिककै औषधि खाइरहेका हुन्छन् । औषधि खाँदा हल्का निको भएको अनुभव हुन्छ । तर, औषधि छाड्नसाथ सो समस्या ज्यूँको त्यूँ रहन्छ ।

यदि लामो समयसम्म ग्याष्ट्रिकको औषधि खाइहँदा पनि निको भएन भने रिफ्लक्सको समस्या भएको हुनसक्छ । किनभने अहिले यस्ता समस्या भएका लिएर आउनेहरु बढेका छन् । किन ?

१. चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग ।

२. जंक फूड, चिल्लो, अमिलो, पिरो, अजिनोमोटो राखेको खाजा, चट्पटे, पानीपुरी, दालमोठ, चाउचाउ, तेल–घिउमा फ्राइ गरेको, पकौडा, समोसा, निम्किन, चकलेट, चना, केराउ स्थायी खाजाको रुपमा खाने ।

३. लामो समयसम्म खाली पेट बस्ने, खानपिनको समय तालिका नमिलाउने, घरबाहिरको खाजा बढी खाने ।

४. दुइ छाक टन्न खाने ।

५. दूध चिया र कफी बढी पिउने

६. चकलेट, कोक, फ्यान्टा जस्ता कृतिम पेय पदार्थको बढी प्रयोग ।

यसले पेटको अनेक समस्या निम्त्याएको छ । त्यसैले सो समस्याबाट बच्नका लागि यस्ता खानपान त्याग्नु जरुरी छ । साथसाथै निम्न कुरामा पनि ध्यान दिनुपर्छ ।

–सही ढंगले सही मात्रामा पानी पिउने ।

–फाइबरयुक्त सागसब्जी खानामा सामेल गर्ने ।

–मौसमी फलफूल र ताजा सलाद दिनहुँ खाने ।

–एकैसाथ धेरै खानेकुरा नखाने । दिनमा तीन–चार पटक थोरै थोरै खानेकुरा खाने ।

–राती सुत्नुभन्दा दुई घण्टा अगाडि नै खाने । रातीको खाना हल्का र सुपाच्य हुनुपर्छ ।

–शारीरिक रुपमा सक्रिय रहने । चिकित्सकको सल्लाह अनुसार औषधि खाने ।

पेट तथा कलेजोरोग विशेषज्ञ  प्राध्यापक डा.सुवास भट्टराई पोखराको पृथ्वीचोकस्थित ग्यास्ट्रो केयरमा आबद्ध छन् ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार