सदनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सभामुखमार्फत ल्याइएको कार्यतालिका स्वागत योग्यः रवी

सदनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सभामुखमार्फत ल्याइएको कार्यतालिका स्वागत योग्यः रवी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सभामुखमार्फत ल्याइएको कार्यतालिकाको स्वागत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कार्यतालिका कार्यान्वयनमा आफू विश्वस्त रहेको समेत बताए । 

‘सदनमा यसपटक कार्यतालिका कार्यान्वयन हुने भएको छ। यसको कार्यान्वयनले विगतमा कुनै कारणले सदन प्रभावित हुने प्रवृत्तिलाई समेत न्यूनीकरण गर्नेछ । कार्यतालिका कार्यान्वयन हुँदा निर्धारित दिनको जिम्मेवारी सोही दिन पूरा हुनेमा विश्वास लिएको छु,’ उनले भने । 

सभापति लामिछानेले सर्वदलीय बैठक दलीय स्वार्थ र भागबन्डामा केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सर्वदलीय बैठक पार्टीको नेताको घर वा कार्यालयमा नभइ मुसहर बस्तीमा बस्नुपर्ने बताए । 

उनले सर्वदलीय बैठक बसी आर्थिक सिथिलता र युवा पलायन रोक्ने विषय, र युवा लक्षित ‘प्रोजेक्ट होप अभियान’का विषयमा छलफल गर्नुपर्नेमा जोड दिए । साथै सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्धता व्यक्त गर्दै ०४८ पछिका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे । 

उनले रुग्ण भएका भौतिक आयोजनाको व्यवस्थापन र शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षाको संकट समाधानका लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । ‘सर्वदलीय बैठकमा सहकारी र लघुवित्त संस्थाको कडा नियमन र पीडितको रकम फिर्ता गर्न सम्पत्ति रोक्का र जफत प्रक्रिया तुरुन्त सुरु विषयमा छलफल गरौँ,’ उनले भने, ‘यो विषयलाई संसदमा ल्याएर छलफल गरौँ । यसका लागि कानुनी र प्रशासनिक तदारुकता देखाउनुपर्छ ।’

उनले संसदमा सत्तापक्षले बहुमतको बलमा प्रतिपक्षले राख्ने संशोधन फेल गराउने प्रवत्तिमा पनि असन्तुष्टि व्यक्त गरे ।

‘सांसदहरुले दर्ता गराउने संकल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव कार्यसूचीमै नचढाउने प्रवृत्ति गलत छ,’ उनले भने, ‘नागरिकसँग प्रत्यक्ष जोडिने यस्ता अनेकौँ प्रस्ताव दर्तामै सीमित गराउने प्रवृत्तिको अन्त्य गर्न दल र सरकार सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार