काठमाडौंका अधिकांश औषधि पसल मापदण्डविहीन

काठमाडौंका अधिकांश औषधि पसल मापदण्डविहीन

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका औषधि पसलमा गरेको अनुगमनको क्रममा आधारभूत मापदण्ड पालना नगरेको पाइएको छ । वडा नं. १, २ र ३ का अधिकांश र अन्य वडामा छिटपुटरूपमा अनुगमन गरिएको महानगरले जनाएको छ ।

वडा नम्बर १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको छ । ३ प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन फ्रिज नचलाइ राखेको पाइएकाले जफत गरिएको छ । रविचन्द्र फार्मेसीमा रेफ्रिजेरेटरको तापक्रम नमिलेको पाइएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

‘औषधि पसलहरुले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरवाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो’, उपमेयर एवं अनुगमन समिति संयोजक सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’

फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठका अनुसार कोल्ड चेन कुनैमा पनि मेन्टेन नहुने भएकाले औषधि पसलमा कुनै पनि खोप नलगाए हुन्छ । औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाण पत्र राखेर अर्कैले पसल चलाएको, दर्ताविना नै चलाइएको, बिलमा म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नम्बर उल्लेख नभएको पनि पाइएको श्रेष्ठले बताइन् ।

रियान्स आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधि पाउनुको साथै सुयोग आयुर्वेदिक औषधि पसलमा आयुर्वेद अध्ययन नगरेको व्यक्तिले औषधि बिक्री गरेको भेटिएको छ । रोयल गन्तव्य हेल्थ केयर प्रा. लि. घट्टेकुलोको औषधि पसलमा रहेका व्यक्तिको प्रमाणपत्र नभएको बताइएको छ ।

अनामनगरको रिजाल ड्रग हाउसमा औषधिभन्दा धेरै कस्मेटिक सामान भेटिएको र फ्रिजको सफाइ नभएको बताइएको छ । -नेपालप्रेसबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार