कलेजोको कत्तिको ख्याल गर्नु हुन्छ, कलेजो रोगबाट यसरी बच्न सकिन्छ ?

कलेजो रोगबाट कसरी बच्ने ?

कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो, जसले स्वस्थ शरीरका लागि आवश्यक धेरै रसायन उत्पादन गर्छ । कलेजो अंगको साथै एक ग्रन्थी पनि हो, किनभने यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । यी भिन्दाभिन्दै भूमिकाको कारण यसलाई अङ्ग र ग्रन्थी दुवै मानिन्छ ।

यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ । शरीरमा बनेका तत्त्वहरूलाई स–साना भागमा टुक्राएर विषाक्त तत्त्वहरूलाई हटाउँछ भने फाइदाजनक तत्व भण्डार गरिराख्न मद्दत गर्छ ।

शरीरका विभिन्न कार्यका लागि प्रोटिन आवश्यक हुन्छ । विभिन्न प्रकारका प्रोटिनहरू उत्पादन गर्न हेपाटोसाइट्स (हेपाटको अर्थ लिभर  र साइटोको अर्थ सेल)ले सघाइरहेको हुन्छ । यसमा रगत जमाउने तत्व (क्लटिंग फ्याक्टर) र एल्बुमिन समावेश छन् । यसै तत्वका कारण रक्तसञ्चार प्रणा भित्र रगतलाई तरल अवस्थामा कायम राख्न महत्त्वपूर्ण भूमिका निभाउँछ ।

कलेजोले कोलेस्टेरोल र ट्राइग्लाईसेराइड पनि उत्पादन गर्छ । कार्बोहाइड्रेटको पाचनमा पनि कलेजोले सघाउँछ र यो अंगले ग्लुकोजलाई ग्लाईकोजेनमा रूपान्तरण गर्छ, जुन कलेजो र मांसपेशीका कोषिकाहरूमा भण्डारण  हुन्छ ।

कलेजोले पित्त पनि उत्पादन गर्छ, जसले चिल्लो पचाउन मद्दत गर्छ । शरीरमा मेटाबोलिक प्रक्रियाको सहउत्पादन एमोनियालाई युरियामा परिणत गरेर शरीरलाई विषाक्त तत्त्वबाट मुक्त गर्न कलेजोले महत्त्वपूर्ण भूमिका खेल्छ, जुन मिर्गौलाद्वारा पिसाबको माध्यमबाट शरीरबाट निक्लन्छ । यसले रक्सी र कतिपय औषधिहरूलाई पनि टुक्र्याउन मद्दत गर्छ । शरीरमा इन्सुलिन र अन्य हार्मोनहरुको सन्तुलन कायम गर्छ ।

कलेजोसम्बन्धी रोग

पछिल्लो समय जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित अंग कलेजो हो । कलेजोलाई हानि पुर्‍याउने कारकहरूमा भाइरस, हानिकारक खाना र रक्सी मुख्य हुन् । हेपाटाइटिस ए, बी र सी जस्ता भाइरसले पनि कलेजोलाई हानि पुर्‍याउँछ ।

आजकल उच्च कोलेस्टेरोल भएको जंकफुडका साथै मादक पेय पदार्थको सेवन दैनिक जीवनशैली बनेको छ, यो पनि कलेजो रोगको प्रमुख कारण हो । यही जीवनशैलीका कारण शरीरको ‘बीएमआई’ अर्थात् बडी मास इन्डेक्सको स्तर बढाउँछ, सामान्य भाषामा मोटोपन निम्तिन्छ । जुन दोस्रो थरीको मधुमेहको बढ्दो जोखिमसँग सम्बन्धित छ र जुन कलेजोको गम्भीर रोगसँग पनि सम्बन्धित छ । अत्याधिक बीएमआईका कारणले गर्दा कालान्तरमा गम्भीर खालको कलेजो रोगको जोखिम हुन्छ । लगातार बढ्दो तौल र मोटोपनले पनि विश्वभर कलेजो रोगको वृद्धिमा भूमिका खेलेको छ ।

कलेजोमा क्षति पुर्‍याउने अर्को कारक तत्त्व मोटोपन हो । मोटोपन आज विश्वव्यापी समस्या हो । वयस्क र बालबालिका दुवैमा मोटोपनको समस्या बढ्दो छ । उपलब्ध अध्ययनहरूले मोटोपनले विभिन्न प्रकारका क्यान्सर निम्त्याउने देखाएको छ । मोटोपन र कलेजोको क्यान्सरको बीचमा विशेष सम्बन्ध हुन्छ ।

यसबाहेक अन्य रोग जस्तै नन–अल्कोहोलिक फ्याटी लिभर डिजिज (मद्यपान नभई अन्य कुनै कारण कलेजोमा चिल्लो थेग्रिने समस्या) र अझ गम्भीर खालको चिल्लो थेग्रिने समस्या (जसलाई नन–अल्कोहल स्टिएटोहेपाटाइटिस भनिन्छ)का कारण कलेजो सुन्निने जोखिम पनि हुन्छ । फ्याटी लिभर र कलेजो सुन्निने समस्याका कारण कलेजोको फाइब्रोसिस र सिरोसिस जस्तो समस्या समेत निम्तिन्छ । सिरोसिसलाई कलेजोको क्यान्सरको कारक मानिन्छ ।

अत्याधिक मात्रामा मदिरा सेवनले कलेजोमा गम्भीर क्षति पुर्‍याउन सक्छ । जब व्यक्तिले अत्याधिक मात्रामा मदिरा सेवन गर्छ, कलेजोको सामान्य कार्यमा बाधा पुग्छ र शरीरमा रासायनिक असन्तुलन हुन सक्छ । यसले कलेजोका कोषिकाहरू नष्ट हुनसक्छ ।

कलेजो क्यान्सरको लक्षण

कलेजोको क्यान्सरका लक्षणहरू व्यक्तिपिच्छे फरक–फरक हुन्छन् । तौल घट्नु, ज्वरो, पेट सुन्निनु,  वाकवाकी लाग्नु र बान्ता हुनु, भोक नलाग्नु, कमजोरी र लगातार थकाई लाग्नु, पेटको माथिल्लो भागमा दाहिने छेउमा वा दाहिने काँधमा पीडा हुनु, कलेजोको दाहिने छेउमा गाँठो महसुस हुनु र जन्डिस देखा पर्नु कलेजोको क्यान्सरका लक्षण हुन् ।

कलेजोमा रोग निम्त्याउने भाइरसविरुद्ध खोप लगाउनुपर्छ

चिकित्सा प्रविधिको विकाससँगै गम्भीर तवरले कलेजो क्षतिग्रस्त भएका बिरामीले कलेजो प्रत्यारोपणको विकल्प रोज्न सक्छन् । यसका लागि आधारभूत प्रक्रिया बुझ्नुपर्छ ।

कलेजोको विभिन्न कार्यका कारण यो भाइरस, विषाक्त पदार्थ, खाना र पानीमा हुने मिसावट र रोगबाट प्रभावित हुन्छ । यसमा समस्या हुँदा पनि पहिचान ढिलो हुन्छ किनभने यो शरीरको बलियो र कडा अंग हो । प्रायः कलेजोको समस्याबाट पीडित व्यक्तिलाई समस्याको बारेमा थाहा हुँदैन, किनभने लक्षण नदेखिने  वा कम लक्षण देखिने हुन्छ ।

कलेजोका रोगको उपचारका महत्त्वपूर्ण आधुनिक विधिहरू उपलब्ध भएपनि कलेजो खराब भयो भने पूर्ण समाधान भने छैन । त्यसैले कलेजोलाई क्षति हुनबाट जोगाउन स्वस्थ जीवनशैली अपनाउनुपर्छ र कलेजोमा रोग निम्त्याउने भाइरसविरुद्ध आवश्यक खोप लगाउनुपर्छ ।

एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार