भटना, बैतडी : पुर्चौडी नगरपालिका–४ भटनामा डेड वर्षअघि विद्युत लाइन विस्तार भए पनि अहिलेसम्म बत्ती नबलेको गुनासो स्थानीयवासीले गरेका छन्।
शिक्षक सुरेन्द्र दत्त भट्टका अनुसार २०८० सालको फागुन महिनामा तारसहितको पोल राखेर विद्युत लाइन विस्तार गरिएको थियो। तर, विस्तारपछि पनि बत्ती नआउँदा स्थानीयवासी अझै अध्यारोमा बस्न बाध्य छन्।
“२०७९ को स्थानीय निर्वाचनमा विद्युत् लाइन विस्तार प्रमुख एजेन्डा थियो। पोल र तार गाडिँदा अब बत्ती बल्छ भन्ने आशा थियो। तर, निर्वाचित भएको तीन वर्षसम्म पनि बत्ती नबलेपछि हामी निराश भएका छौं,” उनले भने।

विद्युत विस्तार न्वादेउबाट सुरु गरिएको भए पनि अहिले न्वादेउका टोलहरू पनि पोल र तारमै सीमित छन्। भट्ट भन्छन्, “सम्बन्धित निकायसँग पटक–पटक कुरा राखेका छौं। तर, विद्युत प्राधिकरण र स्थानीय सरकार दुवैले ‘प्रयासरत छौं’ भन्दै जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्। अब त छिट्टै बत्ती बल्छ भन्ने आशा पनि मरेको छ।”

स्थानीयवासी प्रकाश भट्टका अनुसार अहिले पनि भटनाका बासिन्दा रातको समयमा मट्टितेलको लाल्टिन, सौर्य टुकी र टुकीको भरमा जीवन चलाइरहेका छन्।
“प्रविधिको युगमा बसेर पनि हामी बत्तीको पर्खाइमा छौं। बत्ती नहुँदा बालबालिकाले पढ्न पाएका छैनन्। शिक्षाको पहुँचमा बाधा पुगेको छ,” उनले गुनासो पोखे।
पुर्चौडी नगरपालिकाले जिपिएस नक्साङ्कन र घर नम्बरिङ गरिसकेपछि मात्रै विद्युत् प्राधिकरणले जिम्मेवारी लिने सहमति भएको जनाइएको छ।
विद्युत् प्राधिकरण बैतडीका प्रमुख जनार्दन पौडेलका अनुसार, “नगरपालिकाबाट जिम्मेवारी हस्तान्तरण भएपछि लाइन विस्तार गरिएका ठाउँमा बत्ती बाल्ने तयारी छ।”

नगर उपप्रमुख मिना धानुकले पालिकाभित्र विद्युत पुगेका छैनन् भनेका वडाहरूमा समेत समन्वय गरेर यो आर्थिक वर्षभित्रै बत्ती बाल्ने योजना अनुसार काम भइरहेको जानकारी दिइन्।
उक्त स्थानमा विद्युत् लाइन विस्तार हुँदा कुलमान घिसिङ विद्युत प्राधिकरणका निर्देशक थिए भने अहिले हितेन्द्र देव शाक्य छन्। निर्देशक परिवर्तनको खबर गाउँ–गाउँसम्म अस्वाभाविक ढंगले फैलिँदा टाढाका नागरिकहरू अझै बत्ति बल्ने नबल्नेमा सशंकित बनेका छन्।