धनगढी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै आन्तरिक हवाई उडानको भाडा दरमा पनि वृद्धि भएको छ। नेपाल वायुसेवा सञ्चालक सङ्घले शुक्रवारबाट लागूहुनेगरी भाडा बढाएको हो।
सङ्घले एक सय पाँच रुपैयाँदेखि चार सय ४५ सम्म वृद्धि गरेको सङ्घले जनाएको छ ।सबैभन्दा बढी धनगढीमा ४ सय ४५ रुपैयाँले सरचार्ज बढेको छ। अब धनगढी जाने यात्रुले न्यूनतम पनि ५ हजार १ सय २५ रुपैयाँ तिर्नुपर्छ।निगमले केही दिन अघि हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ बढाएको थियो। इन्धनको मूल्यसँगै हवाई भाडा बढ्दा त्यसको असर व्यवसायमा पर्छ। सबैभन्दा कम काठमाडौं-पोखरा गन्तब्यमा १ सय ६० रुपैयाँ सरचार्ज बढेको छ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले इन्धनको मूल्य बढ्दा सरचार्ज समायोजन गर्नुपर्ने बताउँदै त्यसले व्यवसायमा प्रत्यक्ष असर गर्ने बताउँछन्।कोभिडका कारण उड्डयन र पर्यटन क्षेत्र नै प्रभावित छ। अन्तर्राष्ट्रिय यात्रु छैनन्। अहिले आन्तरिक यात्रु मात्रै छन्। अब फ्युल सरचार्ज वृद्धि सँगै भाडादर स्वतः वृद्धि भइहाल्छ। यसो गर्दा व्यवसायी र यात्रु दुवै मर्कामा पर्ने देखिएको छ उनले भने।
पटक पटक इन्धन मूल्य वृद्धि भएसँगै आन्तरिक उड्डयन उद्योग टिकाउनै मुस्किल हुने श्री एयरलाइन्सले जनाएको छ। कम्पनीका प्रवक्ता अनिल मानन्धरले कोभिडपछि हवाई यात्रुको चाप बढेको बताउँदै इन्धनको मूल्य बढेसँगै भाडा बढ्दा प्रत्यक्ष असर व्यवसायमा पर्ने बताउँछन्। इन्धनको मूल्यवृद्धिले उड्डउयन उद्योग टिक्नै मुस्किल हुने वायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेल शर्माले बताए। रोटर विङ र फिक्स विङ सेवा प्रदायकलाई झन् गाह्रो अवस्था सिर्जना भएको छ। अझै हेलिकोप्टर कम्पनी झन् प्रभावित छन्। विदेशी पर्यटक छैनन्। एउटा कम्पनीले तीन दिनमा पालो पाइरहेको अवस्था छ,प्रवक्ता कंडेलले भने, यस्तो अवस्थामा इन्धनको भाउ बढेपछि यात्रुको चाप पनि घट्न थाल्छ। कहाँ कति बढ्यो ?