भारतको गुजरातस्थित मोरबी शहरको मच्छु नदीमा झण्डै शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा मृत्यु हुनेको संख्या १४० नाघेको छ आइतबार साँझ स्थानीय समयअनुसार ६ः३० बजे उक्त केबल पुल चुडिँदा ४०० जना नदीमा खसेकामा अहिलेसम्म १४० बढीको मृत्यु भइसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
ज्यान गुमाउनेहरुमा ५० बढी महिला र बालबालिका हुन् । मृतकको शव मोरबीको सिविल अस्पतालमा राखिएको छ । उक्त घटनामा ७० बढी घाइते भएका छन् । स्थानीय अधिकारीले दिएको रिपोर्टअनुसार १७० जनाको उद्दार गरिएको छ ।
उक्त दुर्घटनामा परी राजकोटका भाजपाका सांसद मोहन कुन्दरियाको परिवारका १२ जनाको पनि ज्यान गएको छ ।
उक्त पुल पछिल्लो ६ महिनादेखि बन्द रहेको थियो । हाल करिब २ करोड भारु खर्च गरेर मर्मत गरी दिवालीको दिन २५ अक्टुबरमा आम सर्वसाधारणका लागि खुला गरिएको थियो ।
उद्दार कार्य जारी नै रहेको छ । मच्छु नदीमा पानी क मगर्न चेक ड्याम तोड्न लागिएको छ । उक्त पुल १०० जनाको क्षमताको भए पनि पाँच सय जना जम्मा भएको बताइएको छ ।
भाजपा सांसद कुन्डारियाका अनुसार पुल चुडिँएर जहाँ मानिसहरु खसे त्यहाँ १५ फिट गहिरोसम्म पानी रहेको थियो । केही मानिस तैरिएर बाहिर निस्कि एभने कोही पुलमै अड्किएका थिए ।
घटनापछि उक्त पुल व्यवस्थापन कम्पनीमाथि मुद्दा दर्ता भएको छ । जाँचका लागि समितिसमेत बनेको छ । मोरबी केबुल पुल भत्किँदा घाइते भएकाहरूलाई मोरबी सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात र राजस्थानको तीन दिने भ्रमणमा छन् । मोरबी पुल दुर्घटनालाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदीले सोमबार अहमदाबादमा हुने आफ्नो रोड सो रद्द गर्ने निर्णय गरेका छन् । उनले उक्त घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।
मृतकका आश्रित परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार सहायता दिने घोषणा गरिएको छ ।