आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै: के हो योग, किन गर्ने ?

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै: के हो योग, किन गर्ने ?

आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । 

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । 

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन–अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही  क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए । 

नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ ।

के हो योग ?
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।

किन गर्ने ?

  •  योग हरेक उमेर समूहका मानिसले गर्न सक्छन् । जसको माध्यमले रोगी व्यक्ति निरोगी बन्छन् भने सामान्य मानिसलाई पनि स्वस्थ जीवन पद्धतिका लागि सघाउ पुग्छ ।
  •  योगले सकारात्मक सोचको विकास गराउँछ । मनमा नकारात्मकता नआउने भएकाले व्यक्तिको जीवन पद्धतिमा नै परिवर्तन आउँछ । 
  •  बिहान ४ देखि ५ बजेको बीचमा पृथ्वीमा अक्सिजनको मात्रा तुलनात्मक रूपमा बढी हुने गर्छ । त्यसैले, शरीरमा अक्सिजनको मात्रा पूर्ति गराउन बिहानको समय योग गर्नु उपयुक्त हुन्छ ।
  •  योग एक किसिमको व्यायाम पनि हो । योग गर्दा शरीरका सबै जोर्नी चलायमान हुन्छन् । शरीरमा रक्तसञ्चार बढ्छ । साथै, शरीरका सबै अंगमा अक्सिजन पुग्ने हुँदा रोग प्रतिरोधी क्षमतासमेत बढाउँछ ।
  •  स्वस्थ रहन, आत्मविश्वास बढाउन, धन कमाउन, सफल बन्न र प्रतिभा प्रष्फुटन गर्न योग उपयुक्त माध्यम हो । 
  •  तनाव व्यवस्थापनका लागिसमेत योग एकदमै उपयोगी मानिन्छ । योग ध्यानसँग केन्द्रित हुने हुँदा एकाग्र हुन सकिन्छ । जसबाट तनाव सजिलै व्यवस्थापन हुन्छ । 
  •  उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि योग आवश्यक हुन्छ । तर, सबै किसिमका योग सबैलाई उपयुक्त मानिँदैन । 
  •  शारीरिक अवस्थालाई ध्यानमा राखेर योग गरेमा विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ ।
  •  हरेक बिहान कम्तीमा आधा घन्टा योग गर्न सकिन्छ । बढीमा एकदेखि डेढ घन्टासम्म योग गर्न सकेमा निरोगी भइन्छ ।
  •  बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र व्यायामको कमीका कारण अधिकांश मानिसमा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या देखिन्छ । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई जोड्ने भएकाले स्वस्थ जीवनका लागि योग एकदमै महत्वपूर्ण छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार