ट्वीटर सिद्ध्याउन मार्क जुकरबर्गले ल्याए नयाँ सामाजिक सञ्जाल थ्रेड

ट्वीटर सिद्ध्याउन मार्क जुकरबर्गले ल्याए नयाँ सामाजिक सञ्जाल थ्रेड

काठमाडौं : ट्वीटरलाई समाप्त पार्ने उद्देश्यका साथ फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले नयाँ एप थ्रेड ल्याएका छन् । बिहीबारदेखि यो एप आईओएस र एन्ड्रोइडमा एकसाथ आएको हो ।  

सम्भावित कुस्तीका लागि जुकरबर्ग र ट्वीटरका मालिक एलन मस्क तयारीमै रहेका बेला दुवै जनाका कम्पनीहरू भने औपचारिक रुपमा नै प्रतिस्पर्धामा उत्रिएका छन् । मेटाले थ्रेडलाई एउटा छुट्टै एपको रुपमा ल्याएको भए पनि यो एप इन्स्टाग्राम अकाउन्टमा आधारित छ ।

इन्स्टाग्रामका प्रमुख आदम मोसेरीका अनुसार एलन मस्कले ट्वीटरको “अस्थिरता” र “अनिश्चितता” बीच दिएको चुनौतीका कारण यो प्रतिस्पर्धा सुरु भएको हो । एउटा अन्तर्वार्तामा मोसेरीले सोझै दृष्टान्त दिंदै वर्षौंदेखि ट्वीटर जुन किसिमको प्रयोजनका लागि परिभाषित भएको छ, थ्रेड पनि त्यस्तै किसिमले सार्वजनिक सम्वादका लागि  डिजाइन गरिएको बताएका छन् ।

“निश्चित रुपमा यो स्थानमा ट्वीटर अग्रगामी नै हो,” मोसेरीले भनेका छन् । मोसेरीले थ्रेड डाउनलोड गर्नुपर्ने एउटा नयाँ एप भएकाले एक चुनौतिपूर्ण प्रयास भएको बताएका छन् । तर मेटाले इन्स्टाग्राम अकाउन्टलाई सजिलै थ्रेडमा उतार्न सकिने बनाएको छ ।

जसमा अकाउन्ट सम्बन्धी जानकारीका साथै इन्स्टाग्राममा फलो गरिएका हरूको सूची समेत रहेको छ । यसले तत्कालै थ्रेड अकाउन्ट तयार पार्न सकिने बनाएको छ ।

खास तवरमा थ्रेड ट्वीटर जस्तै छ। एपको मुख्य फिडमा इन्स्टाग्रामको एल्गोरिदमले सुझाएका साथै फलो गरिएका अकाउन्टका पोस्टहरू देखिन्छन् । त्यस्ता पोस्टहरूलाई तपाईंले रिपोस्ट गर्न सक्नु र त्यसमा कमेन्ट गर्न हुन्छ ।

हाल थ्रेडमा फोटो तथा पाँच मिनेट लामो भिडिओ सहित ५०० क्यारेक्टर लामो पोस्ट गर्न सकिन्छ । तत्कालका लागि त्यसमा कुनै विज्ञापन भने छैनन् । साथै ट्वीटरमा जस्तो पैसा तिरेर भेरिफिकेसन लिनुपर्ने स्किम पनि छैन ।

थ्रेडलाई गहिरो गरी इन्स्टाग्राम अकाउन्टसँग गाँसिएकाले थ्रेडमा गरेको पोस्टलाई तुरुन्तै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ । यो एप प्रारम्भिक चरणमा विश्वका १०० देशमा उपलब्ध भए पनि युरोपमा भने छैन । त्यहाँको डेटा सम्बन्धी कानूनले गर्दा हाल युरोपमा यो एप उपलब्ध नभएको बताइएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार