तामझामसाथ सुरु गरेको ग्यालेक्सी टीभी ३ वर्षमै कसरी भयो धराशायी ?

ग्यालेक्सी फोर के

काठमाडौं : करिब तीन वर्षअघि निकै महत्वाकांक्षी तवरबाट एउटा नयाँ टेलिभिजन च्यानलको लञ्च भयो- ग्यालेक्सी फोर के टीभी । यसको केन्द्रमा थिए, लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने ।

२०७७ साल फागुन ११ गते ग्यालेक्सी टीभीको उद्घाटन एउटा पाँचतारे होटलमा भव्य समारोहका बीच गरिएको थियो । देशका थुप्रै चर्चित हस्तीहरुको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका थिए । रविले जनताका मुद्दालाई हेडलाइन बनाएर टेलिभिजन सञ्चालन गर्ने उद्घोष गरेका थिए । तर, यो टेलिभिजन तेस्रो वार्षिकोत्सव मनाउन नपाउँदै धराशायी बनेको छ ।

२०७९ साल असार १ गते रविले ग्यालेक्सी टीभीबाट राजीनामा दिँदै राजनीतिमा हाम्फाले । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति छन् र चितवनका सांसद पनि । यसअघि छोटो समयका लागि उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । ग्यालेक्सीसँग अहिले उनको कुनै व्यवसायिक सम्बन्ध वा लेनदेन बाँकी छैन । यद्यपि, आफूले अगुवाइ गरेको टेलिभिजन बीचमै अलपत्र पारेर छोडेको आरोप उनले खेप्नु परेको छ ।

न्यूज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाएर लोकप्रियताको शिखरमा पुगेका रविको लोभलाग्दो क्रेज हेरेर जीबी राईले टीभीमा करोडौं लगानी खन्याए । राई अध्यक्ष र रवि म्यानेजिङ डाइरेक्टर थिए । रविले भने पैसा हालेका थिएनन् । उनले पाँच वर्ष आफूले ढुक्कले काम गर्ने भनेर राईलाई आश्वासन दिएका थिए । टेलिभिजनका स्टाफहरुको बैठक राखेर पाँच वर्षसम्म विज्ञापनको दुःख नहुने पनि बताएका थिए ।

प्रमोटरकै रुपमा आफूलाई उभ्याए पनि रविले कर्मचारीको रुपमा मासिक तलबमै काम गरेका हुन् । स्रोतका अनुसार टीभी सञ्चालनमा नआउँदासम्म उनको तलब मासिक ५ लाख ५० हजार र सञ्चालनमा आइसकेपछि ८ लाख रुपैयाँ थियो । अन्य पत्रकार-कर्मचारीहरुलाई आकर्षण तलब सुविधा तोकिएको थियो ।

फोर के प्रविधिमा आधारित नेपालको पहिलो टेलिभिजनका रुपमा ब्रान्डिङ गरिएको ग्यालेक्सीले सुरुवाती दिनहरुमा चर्चा कमायो । यद्यपि, टेलिभिजनको भविष्य मूलतः रवि लामिछानेमै निर्भर थियो । कम्पनीको नेतृत्वसाथै उनले ‘सीधा कुरा’ कार्यक्रम पनि चलाउँथे । तर, समय गुज्रिँदै जाँदा टीभीले सोचे जस्तो गति लिन सकेन । चर्को प्रतिस्पर्धा र विज्ञापनको संकुचित बजारले गर्दा ग्यालेक्सीलाई आत्मनिर्भर हुन धौधौ परिरहेको थियो । यस्तोमा २०७९ साल असारमा अचानक रविले टेलिभिजन छाडिदिए । त्यसपछि अनिश्चयको बादल मडारिन थालिहाल्यो ।

रविले ग्यालेक्सी अध्यक्ष राईसँग समझदारीमै राजीनामा दिएको त्यसबेला बताइएको थियो । राईले लामिछानेलाई सौहार्दपूर्वक फूलको बुके दिएर बिदा गरेका थिए । अनि राजनीतिमा सफलताको शुभकामना दिएका थिए । तर,  रविकै विश्वासमा आफूले ठूलो लगानी गरेको तर उनीबाट धोका पाएको राईको गुनासो छ ।

यतिबेला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ ग्यालेक्सी टेलिभिजन । अहिले पनि यस टेलिभिजनमा १२२ जना कर्मचारी कार्यरत छन् । टेलिभिजनको मासिक खर्च नै ७० लाख रुपैयाँभन्दा बढी भएको स्रोत बताउँछ । आम्दानी भने न्यून छ । कर्मचारीले ७ महिनादेखिको तलब पाएका छैनन् । अन्ततः उनीहरुले पुस १ गतेदेखि काम ठप्प पारेका छन् । टेलिभिजनमा अहिले गीतमात्रै बजिरहेको छ ।

यता, सञ्चालक जीबी राई अर्को संकटमा फसेका छन् । उनीमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ । राईविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलिरहेको छ । अदालतले भदौ २४ मा पक्राउ पुर्जी जारी गरेदेखि राई सम्पर्कविहीन बनेका छन् । उनी टेलिभिजनकै जिम्मेवार व्यक्तिहरुसँग पनि प्रत्यक्ष सम्पर्कमा छैनन् । राईले टेलिभिजनमा एक अर्ब रुपैयाँ डुबेकाले नै सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न नसकेको बताउने गरेका छन् ।

मालिक नै सम्पर्कविहीन बनेपछि टेलिभिजनको भविष्यमाथि प्रश्नचिन्ह खडा हुने नै भयो । तर, स्रोतका अनुसार अध्यक्ष राईले टेलिभिजन बन्द गर्न चाहेका छैनन् । उनी सानो टीम बनाएर भए पनि टेलिभिजनलाई निरन्तरता दिन चाहन्छन् । तर, कर्मचारीको बक्यौता पारिश्रमिक कसरी छिनोफानो गर्ने भन्ने चुनौती छ । अहिले दुई वा तीन महिनाको तलब दिएर बाँकी ६ महिनापछि साटिने गरी चेक दिने प्रस्ताव उनले व्यवस्थापनमार्फत गरेको बुझिएको छ । –नेपालप्रेसबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार