अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु

सुदूरपश्चिम प्रदेश

धनगढी : कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ। अत्तरियाको लामिताल परिसरमा आजदेखि सुरु भएको महोत्सवको पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले उद्घाटन गरेका हुन्।

आठौँ संस्करणको महोत्सवको पूर्वसन्ध्यामा बिहान प्रभातफेरीसमेत गरिएको थियो। प्रभातफेरीमा सुदूरपश्चिमका कला संस्कृति झल्किने झाकी, बाजागाजासहित बजार परिक्रमा गरिएको हो। प्रभातफेरीपछि कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बलायरले महोत्सवको उद्घाटन गरेका हुन्।

महोत्सवमा १५० स्टल निर्माण गरिएकोमा सबै बुक भएका अत्तरिया उद्योग वाणिज्य संघले बताएको छ। महोत्सव स्थलमा रमाइलो मेलाका पूर्वाधार पनि छन। यस वर्षको महोत्सवमा पनि विगतका जस्तै लामितालमा डुङ्गाको व्यवस्था गरिएको आयोजकले बताएको छ।

यस वर्ष महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च तयार गरिएको छ। महोत्सव भित्रै मिनी महोत्सवको झल्को दिने गरी छुटै मञ्च र स्टल तयार पारिएको हो। थारू गाउँ प्रदर्शनीमा १० वटा स्टल, थारू सङ्ग्रहालय सँगै मञ्चमा विभिन्न प्रस्तुति देखाइने भएको छ। प्रदर्शनी भित्र राखिएको थारू सङ्ग्रहालयमा १ सय ५० भन्दा बढी पौराणिक बस्तु सङ्कलन गरेर राखिएको आयोजकले बताएको छ।

महोत्सवमा सामान्य प्रवेश शुल्क एक सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ। महोत्सवमा अपाङ्गता, जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकका अनुसार महोत्सवमा ७५ प्रतिशत बढी कलाकार सुदूरपश्चिमका हुनेछन। यस पटकको महोत्सवमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थी समूहलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। जसमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी समूहलाई ११ हजार ११, द्वितीय हुनेलाई ६ हजार १११ र तृतीय हुनेलाई ४ हजार १११ रुपैयाँ दिइने जनाइएको छ।

महोत्सवमा प्रस्तुत गरिने स्थानीय नृत्यको पनि उचित पारिश्रमिक दिइने आयोजकले बताएको छ। महोत्सवमा नृत्य प्रस्तुत गर्नको लागि ६ वटा क्लबसँग सम्झौता गरिएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार