अन्तरिक्षमा रहेका स्याटलाइटमार्फत पहिलो पटक फोनहरूमा मेसेज पठाउन सफल

अन्तरिक्षमा रहेका स्याटलाइटमार्फत पहिलो पटक फोनहरूमा मेसेज पठाउन सफल

काठमाडौं । स्पेसएक्सको टिमले अन्तरिक्षमा रहेका आफ्ना स्टारलिङ्क स्याटलाइटमार्फत पहिलो पटक फोनहरूमा मेसेज पठाउन सफल भएको छ । ‘डाइरेक्ट टु सेल’ फिचर भएको स्याटलाइट प्रक्षेपण गरेको केही दिनभित्रै स्पेसएक्सले यो सफलता हात पारेका हो ।

स्पेसएक्सले सामाजिक सञ्जाल एक्समा फोटो शेयर गर्दै यो सफलता जनवरी ८ मा पाएको जानकारी दिएको छ । स्टारलिङ्क एलन मस्कको कम्पनी स्पेसएक्सको स्याटलाइट नेटवर्क हो, जुन पृथ्वीको तल्लो कक्षमा अवस्थित छ । यसबाट संसारभरका मानिसहरूलाई इन्टरनेट सेवा उपलब्ध गराउने मस्कको योजना छ ।

हाल पृथ्वीको तल्लो कक्षमा स्पेस एक्सका ५२५० सक्रिय स्याटलाइट छन् । तीमध्ये ६ ओटा जनवरी २ का दिन प्रक्षेपण गरिएको थियो । जमिनमा रहेको फोनसँग कनेक्ट हुने ‘डाइरेक्ट टु सेल’ फिचर तिनैमा स्याटलाइटमा राखिएको छ ।

स्याटलाइटमा मोबाइल फोन कनेक्ट गरेर मेसेज पाउन तथा पठाउन स्टारलिङ्क टिमले अमेरिकी फाइभजी नेटवर्क ‘टी-मोबाइल’सँग साझेदारी गरिरहेको छ ।

हुन त स्याटलाइटसँग फोन कनेक्ट गर्ने कामलाई निकै चुनौतीपूर्ण मानिन्छ । किनकी जमिनमा हुने नेटवर्कको सेल टावर एउटै ठाउँमा राखिएको हुन्छ । तर स्याटलाइटहरू भने हजारौं किलोमिटर प्रति घण्टाको गतिमा पृथ्वीको तल्लो कक्षमा उडिरहेका हुन्छन् ।

डप्लर शिफ्ट (कुनै वस्तुको सापेक्षतामा तरङ्गको फ्रिक्वेन्सी वा वेभ लेन्थ परिवर्तन हुनु) र टाइम डिले (समय ढिलो चल्नु) जस्ता अन्य कारणले फोन र स्याटलाइट बीचको सञ्चारलाई प्रभाव पारिरहेका हुन्छन् । सोहीकारण स्याटलाइटहरूमा सिमलेस ह्यान्डअफ (अवरोध, ढिलाइ अथवा डेटामा हानी हुन नदिने ट्रान्जिसन) हुनु आवश्यक मानिन्छ ।

अर्कोतिर स्याटलाइट जमिनमा हुने फोनबाट हजारौं किलोमिटर टाढा हुन्छन् । साथै फोनमा ट्रान्समिसन पावर कम हुनुका साथै एन्टेना पनि कम क्षमताको हुन्छ । यी कारण पनि स्याटलाइट र फोन कनेक्ट हुन चुनौती हुने बताइन्छ ।

यद्यपि स्पेसएक्सका अनुसार स्टारलिङ्कका ​स्याटलाइटहरू यी समस्या समाधान गर्न सक्षम छन् । यसका लागि कस्टम सिलिकन र एड्भान्स सफ्टवेयर एल्गोरिदम सहितको डाइरेक्ट टू सेल पेलोड स्याटलाइटहरूमा राखेको स्पेसएक्सको भनाइ छ ।

साथै यी क्षमता भएका स्याटलाइटहरूमा स्पेसएक्सले एरे एन्टेना (मानवीय सहायतबिना आफ्नो आकार र दिशा परिवर्तन गर्नसक्ने विशेष प्रकारको एन्टेना) समेत राखेको स्पेसएक्सले जनाएको छ ।

यिनै कारण स्पेसएक्सका पछिल्ला स्याटलाइटहरूले विभिन्न चुनौतीमा पनि काम गर्न सक्ने र जमिनमा रहेको फोनमा एलटीई (लङ टर्म इभोलुसन) अर्थात् फोरजी सेवा दिन सक्ने बताइएको छ ।

डाइरेक्ट टु सेलबाट स्पेसएक्सले विश्वभरका फोरजी डिभाइसहरूमा टेक्स्ट, भोइस र डेटाको विनाअवरोध पहुँच दिने योजना लिएको छ । हाल आफ्नो स्याटलाइटबाट स्पेसएक्सले साढे २३ लाख ग्राहकलाई इन्टरनेट सेवा दिइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार