मनोसामाजिक/ मानसिक स्वास्थ्य समस्याबारे छलफल आवश्यक छ

मनोसामाजिक/ मानसिक स्वास्थ्य समस्याबारे छलफल आवश्यक छ

मन भन्नाले एउटा व्यक्तिको भावना ,सोचाई, बुझाई तथा सवेगका विभिन्न पक्षहरुलाई बुझिन्छ| व्यक्तिको मन वा मानसिक अवस्थामा आएको मनोविचलन अथवा समस्याको कारण उसको आफ्नै दैनिक जीवन सन्चालन गर्न तथा अन्य व्यक्तिसरह पारिवारिक तथा सामाजिक जीवनमा सहभागी हुन् वाधा/ अवरोध पुगेको महसुस गर्छ भने यसलाई मनोसामाजिक समस्याको अवस्था भनिन्छ |यदि यस्तो अवरोधको अवस्था लामो समय सम्म रहन्छ भने त्यस्तो अवस्थालाई मनोसामाजिक अपांगताको अवस्था भनिन्छ | यसर्थ मनोसामाजिक अपांगता भनेको विधमान दृस्टीकोणजन्य, सामाजिक तथा कानुनि अवरोध का कारण मानसिक स्वास्थ्य समस्या भयका व्यक्तिले समाजमा अन्य व्यक्ति सरह समान आधारमा सहभागिता जनाउन नपाउनु वा कठिनाई हुनु हो |

बदलिँदो समाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागु-पदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङिगक विभेद, अन्धविश्वास, गलत प्रथा, राजनीतिक अस्थिरताजस्ता कारकतत्त्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ ।

शिक्षा र चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको अभाव, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनुजस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचेजस्तो प्रगति हुन सकेको छैन ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद, मनोपरामर्शदाता, सामाजिक कार्यकर्ता, साइक्याट्रिक्स नर्सजस्ता जनशक्ति अत्यन्तै न्यून छन् । जति पनि जनशक्ति छन, ती पनि शहरकेन्द्रित मात्र छन् । दुरदराज र स्थानीय तहसम्म यसको  पहुँच पुग्न सकिरहेको छैन । नेपालजस्तो विकासोन्मुख देशमा त ५ जना मानसिक रोगीमध्ये ४ जनाले उपचार नै नपाउने अवस्था रहेको छ ।

केही सार्वजनिक तथ्यांकहरु अनुसार हरेक ८ जनामा एक जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु हुने गरेको बताईन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कूल जनसंख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु छन् । तीमध्ये कूल अपाङ्गता जनसंख्याको ४.३ अर्थात २८ हजार ४५ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु छन्  भने कैलाली जिल्लामा मात्रै ९ सय २९ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक छ |

  • मनोसामाजिक अपाङ्गता के हो?

शारिरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत, सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिलाई अपाङ्गता भएका व्यक्ति भनिएको छ ।

सर्वोच्च अदालतद्वारा प्रकाशित पुस्तकमा शारिरिक, दृष्टिसम्बन्धी, सुनाई सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिज्म र बहुअपाङ्गतालाई वर्गीकरण गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ मा मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति लाई मानसिक वा मनोसामाजिक अपाङ्गता भनिएको छ ।

  • अपाङ्गता भएका व्यक्तिका संवैधानिक हक के हुन्?

अपाङ्गता भएका व्यक्तिहरुका लागि संवैधानिक हकहरुमा पनि व्यवस्था गरिएको छ । नागरिकको सम्मानपूर्वक बाँच्न पाउने, कानूनको दृष्टिमा समान हुने, समान संरक्षणबाट वञ्चित नगरिने, शारिरिक अवस्था वा अपाङ्गता लगायतका आधारमा भेदभाव नगरिने, समानुपातिक सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिता लगायतका हकहरुको व्यवस्था गरिएको छ ।

  • अपाङ्गता भएका व्यक्ति विरुद्ध के गर्न पाईदैन ?

अपाङ्गताको आधारमा मात्र शिक्षा र तालिम दिने वा सांस्कृतिक कार्यक्रम गर्ने कुनैपनि संस्था वा क्लव वा समुदाय समारोहमा प्रवेश गर्नबाट रोक्न पाईदैन । सर्वोच्च अदालतद्वारा प्रकाशित एक पुस्तकमा भनिएको छ ‘अरुले पाएसरहको राजनैतिक अधिकार तथा आर्थिक र सार्वजनिक सुरक्षा पाउन, रोजागरी तथा व्यवसायमा संलग्न हुन तथा मानवोचित सम्मानपूर्ण जीवनयापन गर्न पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नपाउने उल्लेख छ ।

लेखनः पशुपतिखाति खड्का, मनोविमर्शकर्ता

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार