नेपाली नाटकका सशक्त स्रष्टा विजय मल्लको ‘भोलि के हुन्छ?’
केवल एउटा नाटक होइन, यो समय, सत्ता, मनोविज्ञान र पराजयको गहिरो दार्शनिक दस्तावेज हो। यसका पात्र मोहनले शारीरिक रूपमा पराजित भएर होइन, आफ्नो मानसिक संरचना भत्किएपछि जीवनको अन्त्य रोज्छ। उसले मृत्यु रोज्नुको कारण बाह्य शक्ति मात्र होइन; आफ्नो निर्मित संसार भत्किनु पनि हो।
आज नेपालको राजनीतिलाई नियाल्दा मोहनको मनोविज्ञानसँग केही प्रतीकात्मक समानता देखिन्छ। यहाँ दशकौंसम्म सत्ता र आन्दोलनका केन्द्रमा रहेका नेताहरू अझै पनि आफ्ना ऐतिहासिक उपलब्धिका प्रमाणपत्र बोकेर वर्तमानको वैधता खोजिरहेका छन्। कसैले १० वर्षे जनयुद्धको गौरव सुनाउँछन्, कसैले १४ वर्षको जेलजीवनलाई राजनीतिक पूँजी बनाउँछन्, कसैले राजतन्त्र परास्त गरेको इतिहास सम्झाउँछन्, कसैले १०४ वर्षे राणाशासन अन्त्य गरेको गौरव दोहोर्याउँछन्, त कसैले पञ्चायतविरोधी आन्दोलनलाई आफ्नो स्थायी राजनीतिक प्रमाणपत्र ठानिरहेका छन्।
इतिहासको सम्मान हुनुपर्छ। इतिहासको योगदान अस्वीकार गर्नु अन्याय हुन्छ। तर लोकतन्त्रमा इतिहासले सम्मान दिन्छ, स्थायी शासन गर्ने अधिकार होइन। जनताले हरेक पुस्तालाई वर्तमानका आधारमा मूल्याङ्कन गर्छन्, विगतका उपलब्धिका आधारमा मात्र होइन।
यहीँबाट नेपालको राजनीतिमा एउटा नयाँ अन्तर्विरोध जन्मिएको छ। विगतको गौरवमा बाँचेको नेतृत्व र भविष्यको भाषा बोल्ने पुस्ताबीचको द्वन्द्व। आज सामाजिक सञ्जाल, प्रविधि, शिक्षा, वैदेशिक अनुभव र विश्वदृष्टि बोकेका युवाहरू राजनीतिमा प्रश्न उठाइरहेका छन्। उनीहरू आन्दोलनको इतिहासभन्दा शासनको परिणाम खोजिरहेका छन्। उनीहरू नाराभन्दा नतिजा चाहन्छन्।
यही परिवर्तन पुरानो नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ। किनकि उनीहरूको राजनीतिक शक्ति विगतको स्मृतिमा टिकेको छ भने नयाँ पुस्ताको शक्ति वर्तमानको असन्तुष्टिमा।
यसै सन्दर्भमा पछिल्लो समय कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यको बहस पनि अर्थपूर्ण देखिन्छ। विचारधाराको नाममा विभाजित भएका शक्तिहरू पुनः सहकार्यतर्फ उन्मुख हुनु केवल संगठनात्मक आवश्यकता मात्र होइन, घट्दो जनविश्वासलाई पुनः संगठित गर्ने प्रयास पनि हुन सक्छ। तर प्रश्न एउटै छ—के सहकार्यले विचारको नवीनता जन्माउँछ, कि केवल पुरानै नेतृत्वलाई केही समय थप टिकाउने माध्यम बन्छ?
यदि सहकार्य केवल सत्ताको अंकगणितमा सीमित रह्यो भने त्यसले जनतामा उत्साह होइन, झन् बढी वितृष्णा जन्माउनेछ। तर यदि त्यसले नेतृत्व हस्तान्तरण, संस्थागत सुधार, आन्तरिक लोकतन्त्र र नीतिगत स्पष्टताको बाटो खोल्यो भने त्यसले नयाँ सम्भावनाको ढोका पनि खोल्न सक्छ।
आज केही नेताहरूले “क्रमभङ्ग” को कुरा गरिरहेका छन्। तर वास्तविक क्रमभङ्ग व्यक्ति परिवर्तन होइन; राजनीतिक संस्कृतिको परिवर्तन हो। एउटै अनुहारले नयाँ शब्द बोल्दैमा क्रमभङ्ग हुँदैन। क्रमभङ्ग तब हुन्छ, जब सत्ता व्यक्ति केन्द्रित होइन, संस्था केन्द्रित बन्छ; आन्दोलनको इतिहासभन्दा सुशासनको वर्तमान बलियो हुन्छ; र नेतृत्वले आफ्नो समय पूरा भएपछि नयाँ पुस्तालाई सहज रूपमा स्थान दिन्छ।
मोहनले अन्ततः आत्मविनाश रोजेको थियो, किनकि उसले परिवर्तनलाई स्वीकार गर्न सकेन। नेपालको राजनीतिका लागि पनि यही चेतावनी पर्याप्त छ। कुनै पनि राजनीतिक शक्ति वा नेता परिवर्तनसँग संवाद गर्न नसके, समयले उनीहरूलाई होइन, उनीहरूको राजनीतिक सान्दर्भिकतालाई विस्थापित गर्छ। त्यो विस्थापन जैविक हुन्छ, लोकतान्त्रिक हुन्छ, र इतिहासको स्वाभाविक नियम पनि।
अन्ततः प्रश्न “भोलि के हुन्छ?” भन्दा पनि “आज के गरिँदैछ?” भन्ने हो। किनकि भोलिको उत्तर इतिहासले लेख्दैन, वर्तमानका निर्णयहरूले लेख्छन्। जसले समयको भाषा बुझ्छ, ऊ इतिहासमा बाँच्छ। जसले केवल इतिहासको भाषा दोहोर्याइरहन्छ, ऊ अन्ततः इतिहासकै एउटा अध्याय भएर सीमित हुन्छ। प्रकाशित शब्दः सह-प्राध्यापक डा. देवेन्द्र प्रसाद भट्टका हुन् ।





