धर्म र मानवियताको सम्बन्ध !

धर्म र मानवियताको सम्बन्ध !


देबकी पौडेल

धर्म र मानवियताको सम्बन्ध । संस्कृतको ’धृ’ धातुमा’ मन्’ प्रत्यय लागेर बनेको धर्म शब्दको ब्युत्पत्ति अनुसार जे धारणा गरिएको छ वा आचरणमा उतारिएको छ त्यहि नै धर्म हो । त्यसकारण धर्म भनेको कुनै पनि बस्तुको प्राकृतिक विशेषता हो । जस्तैः–फूलको विशेषता सुगन्ध दिने, बीउको विशेषता विउ उमार्ने, आगोको विशेषता ताप दिने भए जस्तै मानिसको विशेषता मानवियता हो ।

यसलाई मानविय सद्गुण पनि भनिन्छ । मानव धर्म उसको आफ्नो पहिचान हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुने वा नमान्ने हो भने मानिस मानव बन्न सक्दैन, अरुनै केही हुन जान्छ । मानव बन्नको लागि धर्म मान्नु पर्ने हुन्छ । धर्म मूल स्वभाव हो, मूल प्रकृति हो । धर्ममा कुनै कृतिमता वा अहंकार हुँदैन ।

धर्म बिना संसारमा केही पनि हुँदैन । धर्म झिकिदियो भने संसार शून्य हुन्छ । किनकी अस्तित्वहीनता र स्वभावहीनताको जुन स्थिती हुन्छ, त्यसलाई नै शून्य भनिन्छ । अतःधर्मले नै यो सृष्टि अडेको छ, यो प्रकृति चलायमान छ, चर–अचर यावत् गतिशील छन् र सम्पुर्ण प्राणी संवेदनशील छन् ।

विभिन्न वस्तुको आ–आफ्नो धर्म भए जस्तै मानवको धर्म हो– मानवियता । मानवियता छैन भने मानव–मानव होइन भन्ने कुरा स्वतः सिद्ध भईहाल्छ । त्यसैले मानिसलाई मानव बनाउने तत्व नै धर्म हो । ईष्र्या, घृणा र द्वेष छ भने मानव–मानव सँग मिल्न सक्दैन तर प्रेम, दया र करूणा छ भने मानव–मानवसँग स्वतःमिलि नै हाल्छ । अतःधर्म नै एकमात्र यस्तो तत्व हो, जसले मानवलाई दानव बन्नबाट बचाइरहेको छ ।
म को हु ? मेरो अस्तित्व के छ ? म के का लागि जन्मिएको हो?आदि आद्यात्मिक सबालहरुको जबाफ स्वयम बाटै पाउने प्रयत्न गर्छ , त्यहीं नै अध्यात्मको यात्रा हो ।

जसले स्वयम भित्रको स्वयमलाई चिन्ने, बुझ्ने अनि जान्ने र स्वयमलाई खुशी र सुखी हुने मार्ग पहिल्याउछ । भौतिकताको यात्रा अति सीमित छ । त्यस कारण मानसिक सन्तुष्टि र आफूलाई खुसी बनाउन सक्ने आधारहरुको खोज सुरु गर्छ , त्यहि बाट अर्को यात्रा शुरु भई हाल्छ अध्यात्म को । र त्यही अध्यात्मले नै मानबको प्राकृतिक गुण प्रस्फुटित गराउदछ, जुन मानब धर्म हो ।

त्यहि नै मानवियता हो । मानवियता आफू मात्र होइन सहयोग र सद्भावको माध्यमबाट अरुलाई पनि सुख र सन्तुष्टी दिन सकियोस त्यागद्वारा स्वयम सुख एवम सन्तुष्टी प्राप्त गर्नु हो । श्रीमद् भागवत गितामा उल्लेख भएअनुसार तपस्या, शुद्धता, दया र सत्य धर्मका चार पाउ हुन् । जस अनुसार पनि कुनै पनि बस्तुको शुद्ध वा प्राकृतिक गुण र सर्वव्यापी सत्य र तपस्या अर्थात निरन्तरता धर्मका अपरिहार्य तत्व हुन् ।

मानव धर्म वा मानवियता पूूर्ण हुन मानिस भौतिक रुपमा दुई खुट्टाले उभियोस नउभियोस् खासै महत्व राख्दैन तर तपस्या, शुद्धता, दया र सत्य चार पाउ हुन अत्यावश्यक हुन्छन् । धर्म देवि देवता वा ईश्वर मान्ने धारणा मात्र होइन । एक विश्वास हो, आस्था हो । धर्ममा अनुशासन र सभ्यता अनि नैतिकता हुन्छन् । धर्म मानेर मात्र पनि हुदैन, पालना गर्न सक्नुपर्छ ।

धर्म पहिचान हो, अस्तित्व पनि हो । धर्मलाई कसैले पनि परिवर्तन गराउन सकिँदैन बरु एक पछि अर्को आबिस्कार हुदै जाँदा विज्ञानमा परिवर्तन आउन सक्ला तर धर्ममा परिवर्तन आउन सक्दैन । हिजो हजुरबुबाहरुको पालामा पनि थियो आजपनि छ र भावी सन्ततीमा पनि त्यहि रहने छ ।


धर्म जीवनको आधार हो अन्ध बिश्वास होइन । चाडपर्ब, रितिरिवाज, भाषा, संस्कृती , कला र साहित्य हाम्रा पहिचानका आधारहरु हुन् । सनातन् कालदेखी चल्दै आएको संस्कृती हो (हिन्दु संस्कृती । हिन्दु सभ्यताको केन्द्र दक्षिण एसिया हो र त्यसमा पनि हिमालयको काखमा अबस्थित र तपश्विहरुको पबित्र र प्रीय भूमी भएको नाताले नेपाल पूर्वीय बेदान्त दर्शनको ऐतिहासिक स्थलहो ।

ॐ कारलाई मुलमन्त्र मान्ने, सदाचारी रहने, माता पिता र गुरुजनलाई श्रद्धा गर्ने, बैदिक दर्शन पालना गर्ने गाई गंगा ,तुलसीपुजन र बेद पाठ गर्ने हिन्दू धर्म कुनै व्यक्ति विशेष द्वारा कुनै विशेष परिस्थिति र समयलाई आधार बनाएर बनाइएको धर्म नभएर स्वतः नै सिर्जित भएकोले यो खासमा जीवनयापनको दर्शन हो ।


अहिलेको समयमा भौतिक महत्वकांक्षा प्राप्ति नहुँदाको वा मानसिक असन्तुष्टिका कुण्ठा रिलिज हुन नपाँउदा र त्यस्ता समस्या थपिदै जाँदा मानिसहरुमा मानसिक रोगहरु र बिकराल रुपमा मनोबैज्ञानिक बिचलन देखा परिरहेका छन् । जसले समाजमा अनौठा र कु्रर प्रकृतिका सामाजिक अपराधिक घटना घटाई रहेको छ । नत ध्यान छ न योग प्रणायाम छ ः खाली भौतिक विकास मात्र छ, जसका कारण शरीरिक रोगका साथै मानसिक रोगहरु बढ्दै गए ।

यदि भौतिक विकास मात्र भयो तर अध्यामिक विकास हुन सकेन भने त्यस्तो देश र समाजमा असन्तुलन र अनैतिक क्रियाकलाप बढ्न सक्दछन् । यहि कारण मानिसहरुले आफुले के गर्न हुने र के नहुने होे भन्ने कुरा समेत भुल्न थालिसके । भौतिक सुख शयलमा रमाउने बानी पारिसके । बिना परिश्रम जीवन व्यतित गर्ने र पहिलेको राम्रा संस्कार र संस्कृतिलाई बिर्सेर उहिलेको कुरा खुहिले भन्दै अप्राकृतिक कार्यहरु गर्ने गर्छन । तर कतिपय कुराहरु पहिलेको कुराहरुले अहिलेलाई राम्रो गरेको छन् ।

पहिलेको पृथ्वीमा बसेर पहिलेको कुरा अहिले खुइलिए भन्न पनि नमिल्ला । अहिले विश्राममा कोरोना भाइरसले विज्ञानलाई समेत चुनौती दिई रहेको छ, जुन सिर्जित हुनुमा पनि हिन्दु बेदान्त दर्शनद्धारा बर्जित मांसहार हुन पनि सक्छ सकभर मांसहार नहुने हो भने पनि अधिंकास रोगहरुवाट बच्न सकिन्छ ।

श्राबण महिना नजिकिए सगै हिन्दु धर्म मान्ने नारीहरुले विशेष महत्वका साथ लिने गर्छन श्रावण महिनामा शिवको विशैष पुजा आजा गर्ने भएकोले महिलाहरु यो महिना भरी व्रत लिने,शुद्ध आहार विहार गर्ने तथा शिवजीको पुजा आरधाना गर्ने जस्ता काम गर्छन । भगवान शिवको प्रिय दिन सोमवार भएकोले सक्नेले महिनाभरी र नसक्नेले प्रतेक सोमवारका दिनमा मात्र लसुन प्याज माछा मासु नखाइ वस्छन ।

आध्यात्मिक दृष्टिकोणले यो महिनाको विशेष महत्व त छँदै छ । साउन महिनामा आशुतोष भगवान शंकरको भतिm, आराधाना एवं पुजाको विशेष महत्व छ । सांसारिकता र भौतिकताको कुनै वास्ता नगरी व्रत वस्ने एंव शिवालयमा नांगै खुटा हिडेर पुजा आरधना दर्शन गर्न जानाले आध्यात्मिक शान्ति हुने वताइन्छ । यो महिनामा भगवान शिवलाइ जल चढाउने संस्कृतिसँगै नेपाली नारीहरुले हरिया चुरा ,पोते ,हरियै पहिरन एवं हातमा मेहन्दी लगाउने चलन बढदै गएको छ र जसको आफ्नै महत्व रहेको छ ।

यो धार्मिक ,आध्यात्मिक ,सामाजिक ,सास्कृतिक ,मानसिक एंव भौतिक दृष्टिकोणले पनि श्रावण महिना र यस महिनामा पालना गरिने नियमहरुको निकै महत्व रहेको छ ।मानिस जति नै नकारात्मक भएपनि मन्दिर जाने भनेपछि उसले आफ्नो सोच सकारात्मक वनाएको हुन्छ र उसमा थोरै भए पनि आस्था र श्रद्धाको भाव प्रकट हुन्छ ।

व्रतवाट आफ्नो संकारको परिचय मिल्नुको साथै शरीर स्वस्थ हुनुका साथै मन शान्त हुन्छ । जसको कारण पनि हिन्दु धर्म दर्शनको महिमा अझ वृद्धि भएकोे छ । त्यसकारण हाम्रो मौलिक धर्ममा चिन्तन गर्ने बेला आएको छ । हामीले आफुलाई बुझ्ने र अरुलाई पनि बुझाउने अवसरको रुपमा रहेको छ ।हाम्रो मौलिक धर्म र सस्कृति लोभ हुन नदिनको लागि र भावि सन्ततिको लागी हामि सवै युवाहरु मिलेर जोगाइ राख्नु अहिलेको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार