शब्दकोशबाट ॐ शब्द हटाउन लागिएको बारे, भ्रम र यथार्थ ?

ॐ ओम

असोज ४ मा धेरैजसो समाचार पोर्टलले शब्दकोशबाट ‘ॐ’ हटाउने निर्णय विरुद्धको मुद्दामा सर्वोच्च अदालतले ‘एमिकस क्युरी’ गठनको आदेश दिएको समाचार लेखे। नेपालका मात्रै होइन, भारतीय सञ्चारमाध्यमले पनि शब्दकोशबाट ‘ॐ’ हटाएको र त्यसमा अदालतले चासो देखाएको भन्ने किसिमले समाचार प्रकाशित गरे।

त्यसयता सामाजिक सञ्जालमा ‘ॐ’ कै चर्चा छ। कतिपयले सरकारको चर्को आलोचना गरेका छन्।

यो विषय सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पनि उठेको छ। असोज ६ गते केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै केही नेताले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको भन्दै आपत्ति जनाउका छन्।

अहिले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको हो त? होइन, यो सात वर्षअघिको विवाद हो।

यसको शुरुआत भने २०६९ सालमा भएको थियो। त्यतिवेला शिक्षा मन्त्रालयले नेपाली लिपीका संयुक्त अक्षरहरूलाई शब्दकोश र शैक्षिक पाठ्यक्रमबाट हटाउने निर्णय गरेको थियो। नेपाली भाषालाई सरल बनाउने र एकरूपता ल्याउने भन्दै नेपाल प्रज्ञा-प्रतिष्ठानको भाषा समिति र पाठ्यक्रम विकास केन्द्रले गरेको सिफारिशका आधारमा तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले यस्तो निर्णय गरेका थिए।

शिक्षा मन्त्रालयको निर्णयअनुसार, नेपाल प्रज्ञा-प्रतिष्ठानले २०७३ सालमा नयाँ शब्दकोश प्रकाशित गरेको थियो। तर, त्यसको आलोचना भएपछि त्यसलाई सच्याइएको प्रज्ञा-प्रतिष्ठानका तत्कालनी उपकुलपति गंगाप्रसाद उप्रेती बताउँछन्।

शब्दकोशबाट संयुक्त अक्षर हटाउने निर्णयको विरोध भएपछि प्रज्ञा-प्रतिष्ठानले २०७४ सालमा छानबिन समिति गठन गरेको थियो। त्यो समितिको सिफारिशका आधारमा संयुक्त अक्षर हटाउने मन्त्रालयको निर्णय पालना नगर्ने निष्कर्ष निकालिएको पूर्व उपकुलपति उप्रेती बताउँछन्।

त्यतिवेला अन्य संयुक्त अक्षर हटाइएको भए पनि ‘ॐ’ शब्द भने नहटाइएको उप्रेतीको भनाइ छ। “२०४० सालयताका आएका शब्दकोशमा कहि कतै पनि ‘ॐ’  शब्द हटेको छैन,” तत्कालीन उपकुलपति उप्रेती भन्छन्, “संयुक्त अक्षरहरू हटेका थिए, तर ‘ॐ’  शब्द नै यथावत थियो। अहिले अफवाह फौलाइएको छ।”

संयुक्त अक्षरहरू हटाउँदा ‘ॐ’, ‘श्री’ जस्ता शब्द पनि हट्ने जोखिम देखेपछि विज्ञहरूले त्यहि वेला आलोचना गरेका थिए। प्रज्ञा-प्रतिष्ठानले त्यो सुझाव मानेको उप्रेती सुनाउँछन्। त्यसपछि संयुक्त अक्षरहरू सहितको ‘नेपाली वृहत शब्दकोश’को दशौँ सस्करण प्रकाशन गरिएको थियो। जहाँ ‘संशोधन समतिको भनाई’ शीर्षकमा स्पष्टीकरण दिइएको थियो।

त्यसमा भनिएको छ, ‘नेपाली वृहत शब्दकोशमा भएका पछिल्ला संशोधनहरूका सम्बन्धमा आएका सुझाव र २०७२ को संस्करणमा प्रयुक्त वर्णविन्यासका केही पक्षमा आएका गुनासा र सुझावलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषदको मिति २०७३ कात्तिक १० गतेको निर्णय बमोजिम यो दशौँ संस्करण तयार भएको हो।’

यसरी मन्त्रालयको निर्णय नमानेर यसअघि हटाइएका शब्द समेत थपेर पहिलेकै अवस्थामा ल्याउन लगाएको उनी बताउँछन्। त्यसपछि शब्दकोशको १०औं संस्करणमा संयुक्त शब्दहरूलाई परम्परागत शैलीमा नै राखिएको थियो भने अहिलेसम्म त्यही नै कायम छ।

संयुक्त अक्षरहरू नै भाषाका सम्पत्ति भएको उल्लेख गर्दै उनी आफ्नै कार्यकालमा सरकारले गरेको निर्णय सच्याइएको बताउँछन्। “अहिले सामाजिक सञ्जालमा शब्दकोशमा नै ‘ॐ’ अक्षर नरहेको भ्रम फैलाइएको छ,” उनी भन्छन्।

त्यही वेला २०७३ भदौ २४ गते अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा संयुक्त शब्द हटाउने निर्णय रोक्न आदेश माग गरेका थिए। त्यसमा कुनै शब्द तोकिएको थिएन।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले संयुक्त शब्द हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो। तर, यतिका वर्षसम्म सर्वोच्च अदालतले त्यसमा फैसला गरेन।

असोज ४ मा त्यो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले ‘एमिकस क्युरी’ गठनका लागि आदेश दियो। अदालतले कुनै पनि मुद्दामा विज्ञहरूको राय-सल्लाह लिन चाहेमा सहयोगीका रुपमा बोलाउन सक्छ। त्यसविषयमा विज्ञहरूसँग छलफल गर्छ। त्यही विज्ञ समूहलाई अदालती  भाषा ‘एमिकस क्युरी’ भनिन्छ।

त्यतिवेला नै प्रज्ञा-प्रतिष्ठानले सच्याइसकेको थियो। त्यस्तो निर्णय गर्ने तत्कालीन शिक्षामन्त्री शर्माले पनि सार्वजनिक रुपमा गलत निर्णय गरिएको स्वीकारिसकेका छन्। “एउटा कार्यक्रममा दिनानाथ सरले यो कदम गलत भएको भनेर पनि आत्मालोचना गरिसक्नु भएको छ,” रिट निवेदक नेपाल भन्छन्।

शब्दको नयाँ संस्करणमा रहेको ‘ॐ’ शब्द।
व्यवहारिक रुपमा त्यो विषय सुल्झिसकेको भए पनि अदालतमा मुद्दा भएकाले टुंगोमा पुग्नुपर्ने अधिवक्ता नेपालको भनाइ छ। “शिक्षा मन्त्रालयको संयुक्त अक्षर हटाउने निर्णय आधिकारिक रुपमा फिर्ता नभएरसम्म वा अदालतले त्यसलाई रद्द नगरेसम्म चिन्तित नै रहने अवस्था छ,” नेपाल भन्छन्, “हामी फैसलाको प्रतिक्षामा छौं।”

सर्वोच्च अदालतले लामो समयसम्म फैसला गरेकाले यो विषय अहिले चर्चामा आएको हो। व्यवहारिक रुपमा भने यो निर्णय सात वर्षअघि नै सच्याइसकिएको थियो। अदालतमा परेको रिटमा पनि ‘ॐ’ शब्द उल्लेख छैन, संयुक्त शब्द नै उल्लेख छ। शिक्षा मन्त्रालय र प्रज्ञा-प्रतिष्ठानले पनि संयुक्त शब्द मात्रै भनेको थियो।

त्यतिवेला अन्य संयुक्त शब्द हटाउँदा पनि ‘ॐ’ शब्द शब्दकोशमा राखिएको पूर्व उपकुलपति उप्रेती बताउँछन्। “अहिले पनि प्रज्ञा नेपाली वृहत् शब्दकोशमा ‘ॐ’ शब्द र यसको अर्थ अझै विस्तृतमा राखिएको छ,” उप्रेती भन्छन्, “अहिले बेकारमा भ्रम फैलाइएको छ। यसअघि ‘ॐ’ शब्द हटाएको पनि छैन, हट्ने पनि होइन।” -हिमालखबरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार