धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा नबिल बैङ्कको सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन

३ महिने अवधिको उद्यमशिलता प्रशिक्षण कार्यक्रम वर्षैभरि सञ्चालन हुने

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा नबिल बैङ्कको सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन

धनगढी : धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) मा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन हुने भएको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढवा दिनका लागि यो कार्यक्रम सुरु गरिएको एसपिएले जनाएको छ ।

कार्यक्रम अन्तर्गत ३ महिना अवधिको प्रशिक्षण वर्षैभरि सञ्चालन गरिने छ । नबिल बैंकको सहकार्यमा सञ्चालन गरिने सो कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग उपलब्ध गराइने बैङ्कले जनाएको छ ।

कार्यक्रम शुभारम्भ समारोहमा बोल्दै नबिल बैङ्कका सुदूरपश्चिम प्रदेश प्रबन्धक टेकराज भट्टले सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीसँग सहकार्य गरेर सामाजिक उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्ने उनले बताए ।

सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैङ्कले सातै प्रदेशका स्कुल÷कलेज तथा विश्वविद्यालय सँग सम्झौता गरेको जनाएको छ । जसमध्ये सुदूरपश्चिमबाट सुदूरपश्चिमाञ्चलमा एकेडेमी छनौट भएको हो ।

उनका अनुसार १८ वर्ष पुगेका र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा अध्ययनरत वा अध्ययन गरिसकेका युवायुवती यो कार्यक्रममा सहभागी हुनसक्ने छन् । कोर्स पुरा गरेको व्यक्तिले उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल विकास गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरुवात गर्न सक्ने अपेक्षा लिएको नबिल बैङ्कका सुदूरपश्चिम प्रदेश प्रबन्धक भट्टले बताए । उनीहरूले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, ऊर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरूमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्ने बैङ्कले उल्लेख गरेको छ ।

सहभागीहरूले सामाजिक उद्यम सञ्चालनको तरिका सँगै आधारभूत कानुनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउने कार्यक्रम संयोजक प्रेमराज जोशीले बताए । सहभागीहरूले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्द्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका आधारभूत कुराहरूको समेत व्यवहारिक ज्ञान र सीप पाउने उनले बताए ।

विद्यार्थीहरिलाई व्यवसाय केन्द्रित व्यवहारिक सीप दिनुका साथै आर्थिक श्रोतको सहयोगसमेत दिने गरी कार्यक्रम सञ्चालनका लागि नबिल बैंकसँग सहकार्य गर्ने अवसर सुदूरपश्चिमाञ्चल एकेडेमीले प्राप्त गरेकोमा गौरव अनुभूति भएको सुदूरपश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्यायले बताए । लघु वित्त, संस्था व्यवस्थापन, परियोजना सञ्चालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएकाले यसबाट सयौँ विद्यार्थीले लाभ लिन सक्ने उनले जानकारी दिए ।

‘यो तालिम व्यवसाय सुरुवात तथा सञ्चालनमा मात्र सीमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससङ समेत जोडिएको छ ।’ क्याम्पस प्रमुख उपाध्यायले भने ‘व्यवसाय सञ्चालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने छ ।’

नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रवर्द्धन गर्न यो कार्यक्रमले निजी, सार्वजनिक, शैक्षिक संस्था र समुदायबिचको रचनात्मक सामूहिकतालाई प्रवर्द्धन गर्ने प्रयास गरिएको उनले बताए । दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौँ आवधिक योजना लगायतका दस्ताबेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास पनि क्याम्पस प्रमुख उपाध्यायले व्यक्त गरेका छन् ।

यो कार्यक्रम पूर्ण व्यावसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना सिप र रोजगारी गरी जीवन निर्वाह गरिरहेकाहरूलाई पनि उद्यमी बनाउन एक नयाँ सुरुवात हुने कार्यक्रमका संयोजक प्रेमराज जोशीले बताए । उनले सहभागी विद्यार्थीहरूका लागि विशेष छात्र वृत्तिको व्यवस्था समेत भएको जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार