डोटीमा किशोरीलाई आत्मरक्षा तालीम

आत्मरक्षा तालीम

समाजमा महिलामाथि घट्ने विभिन्न खाले हिंसाबाट जोगिन दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालीम दिन शुरु गरेको छ । नगरपालिकाका छ सामुदायिक माध्यमिक विद्यालयका २४० किशोरीलाई उक्त तालीम दिन थालिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए । उनले भने, “ बलात्कारलागयतका घटनाबाट जोगिन विभिन्न संस्थाको सहयोगमा तालीम शुरु गरेका छौँ ।”

तालीममा तेक्वान्दो सम्बन्धी आधारभूत प्राविधिक सीप र सैद्धान्तिक ज्ञान दिन शुरु गरिएको जिल्ला खेलकूद विकास समिति डोटीका प्रमुख तथा तेक्वाण्दो प्रशिक्षक हर्कबहादुर बोगटीले बताए । उनले भने, “हामीले किशोरीलाई सुरक्षित रहनका लागि तेक्वाण्डोसहितका मासैलआर्टबारे तालीम दिन थालेका छौँ, उक्त सीपले उनीहरुलाई आत्मरक्षा गर्न सहयोग मिल्ने छ ।” कक्षा १० तथा ९ का प्रत्येक विद्यालयबाट ४० लाई उक्त तालीम दिइने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले जानकारी दिए ।

अस्पताललाई जग्गादान :

केआइसिंह गाउँपालिकामा १० शैयाको सामुदायिक अस्पताल बनाउन स्थानीयले निःशुल्क जग्गा दान गरेका छन् । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा कागजी प्रक्रिया पूरा गरी मालपोत कार्यालयबाट अस्पतालका नाममा नामसारी गरिएको बताए ।

गाउँपालिकामा अस्पताल निर्माण गर्न स्थानीयले नौ रोपनी जग्गा दान गरेका छन् । अस्पताल निर्माणका लागि स्व गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले तीन रोपनी, स्व। खडकनाथ पाठकका छोरा मनिराम पाठक, रघुनाथ पाठक, प्रेमप्रसाद पाठक र श्यामप्रसाद पाठकले तीन रोपनी र स्व कमलदेव पाठकका छोरा डिल्लीराज पाठकले पनि तीन रोपनी गरी दान गरेका हुन् ।

अस्पताल निर्माण गरी यहाँका नागरिकलाई सेवा दिन बुबाको स्मृतिमा आफुहरुले जग्गा दान गरेको गौरीलालका छोरा विश्वनाथले बताए । उनले भने, “हामीले दान गरेको जग्गामा अस्पताल बने यहाँका गरिबले सेवा पाउने छन्, हामी खुशी भएर जग्गा दान गरेका छौँ ।”

पञ्चकर्म विधिले बाथ रोगीलाई राहत : 

बाथ रोगीका लागि डोटीको दिपायलमा पहिलो पटक पञ्चकर्म विधिबाट उपचार शुरु गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार गर्न शुरु गरेपछि अहिले दैनिक २० देखि २५ जना बिरामी आउने आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त उपचार विधि शुरु भएदेखि अहिलेसम्म एक हजार भन्दा बढी नागरिकको उपचार तथा जाँच गरिएको छ । लामो समयदेखि उपचार नपाएर घरैमा बस्न बाध्य बिरामी तथा उपचारका लागि जिल्ला बाहिर तथा छिमेकीमूलुक जान बाध्य भएका बाथ रोगीका लागि जिल्ला आयुर्वेदले यो प्रविधिबाट उपचार गर्न शुरु गरेपछि अहिले आयुर्वेद कार्यालयमै उनीहरुको निःशुल्क उपचार गरिन थालेको सो कार्यालयका प्रमुख तथा कविराज विद्या घिमिरे (देउवा) ले बताए ।

उनले भने,“रकम अभावमा कतिपय बिरामी उपचार नपाएरै घरैमा बस्न र रकम भएका टाढा गएर महङ्गोमा उपचार गर्न बाध्य थिए, केन्द्रमा निःशुल्क सेवा दिन थालेपछि सहज उपचार हुनुका साथै बिरामीको चाप बढेको छ ।”

प्रमुख घिमिरेका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा त्यसपछि बाथ रोगका बिरामी बढी भएको आफूले पाएको बताए । उनले भने“ यहाँ जाँच गराउन आउने अधिकांशमा पत्थरी तथा करिब ३५ देखि ४० प्रतिशत बाथ रोगका बिरामी भेटिन्छन् ।” पञ्चकर्म– पूर्णकम प्रविधिबाट उपचार गराउदा आफ्नो बाथ रोग क्रमिकरुपमा सुधार हुँदै गएको दिपायलस्थित कठायत टोलकी ७० वर्षीया हिरादेवी कठायतले बताइन् ।

उनले भनिन्,“बिरामी भएको वर्षौ भइसकेको थियो उपचार गराउन पाएकी थिइन, अहिले यहाँ उपचार गराउन आउन थालेपछि शरीर कम दुख्न थालेको छ निको भएको महसुस गरेकी छु ।” गणेश शाहुले यो विधिबाट उपचार गराउँदा कम्मर, हात खुट्टा तथा ढाड दुःख्ने समस्या निको हुन थालेको बताइन्।

कविराज देउवाका अनुसार स्वधन चिकित्सा प्रविधि अर्थात पञ्चकर्म– पूर्णकर्मविधि भनेको तेल, विभिन्न जडीबुटी, घृत तथा मह पकाएर बाफद्धारा शरीरमा भएको खराब रगत हटाउने प्रविधि हो । यो प्रविधि डोटीमा पहिलो पटक लागू भएको आयुर्वेद हो ।

वैद्य विक्रम कठायत भन्छन्, “बाथ रोग वंशाणुगत भउपनि नियमित रुपमा उपचार गरे निको हुन्छ, रोग लुकाएर बस्नु भन्दा उपचार गराउनु राम्रो हुन्छ ।” बाथरोगका बिरामीलाई निको पार्न चारहप्तादेखि एक वर्षसम्म लाग्नसक्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार