सुदूरपश्चिमी सीमा गाउँ व्यास गाउँपालिका–१ छाङरु र टिंकरमा खाद्यान्न ढुवानी रोकियो

दार्चुलाको छाङ्गरु

दार्चुला: लिपुलेक जोडिएको मुलुकको सुदूरपश्चिमी सीमा गाउँ व्यास गाउँपालिका–१ छाङरु र टिंकरमा खाद्यान्न ढुवानी रोकिएको छ । गत चैतमै ढुवानी भइसक्नुपर्ने खाद्यान्न घोडेटो बाटो ठाउँ–ठाउँमा अवरुद्ध हुँदा रोकिएको हो ।

छाङरु र टिंकर गाउँका लागि ५ सय क्विन्टल चामल ढुवानी गर्न गत असोजमा ठेक्का सम्झौता भएको थियो । बाटोको समस्या देखाएर ठेकेदारले चामल ढुवानी नगर्दा दुवै गाउँमा खाद्य संकटको अवस्था आएको स्थानीयले बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मेरो कन्स्ट्रक्सनसँग दुवै गाउँमा चामल ढुवानीका लागि ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीका स्थानीय प्रतिनिधि प्रेमसिंह धामीका अनुसार पुर्‍याउनका लागि बाटो नहुँदा धनगढीबाट चामल उठाइएको छैन। फागुन–चैत महिनामै ढुवानीका लागि बाटोको अवस्थाबारे बुझ्न ठेकेदारले आफूहरूलाई स्थलगत अनुगमनमा पठाएको धामीले बताए । ‘एक जना खच्चड व्यवसायीलाई लगेर हेर्न जाँदा कल्जु, तम्बाकु, बयली, पोला, बुदीलगायत ठाउँमा बाटो भत्केको थियो । यी ठाउँहरूमा खच्चड जान नसक्ने अवस्था छ,’ उनले भने, ‘केही ठाउँमा साँघुरो बाटोमा भारी छिर्ने अवस्था नै देखिएन ।’ यी ठाउँमा बाटो बनेपछि मात्रै चामल पठाउन सकिने ठेकेदारले बताएको उनको भनाइ छ । ‘बाटो मर्मतका लागि ठेकेदारले व्यास गाउँपालिकालाई चैत महिनामै अनुरोध गरेका थियौं । अहिलेसम्म पालिकाले बाटो निर्माणमा चासो देखाएको छैन,’ धामीले भने, ‘मैले त गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई पटक–पटक बाटो मर्मतका लागि अनुरोध गरेको थिएँ ।’

उनका अनुसार एक/दुई ठाउँ र थोरै लागतमा बाटो मर्मत गर्नुपर्ने भए ठेकेदार आफैंले काम गरेर चामल ढुवानी गर्न खोजेका थिए । मर्मतमा १२/१५ लाख बजेट आवश्यक पर्ने देखिएकाले स्थानीय सरकारलाई अनुरोध गरिएको उनले बताए । ‘जेठ तेस्रो सातासम्म गाउँपालिकाले बाटो बनाउन सके चामल गाउँ पुर्‍याउन सकिन्छ । मर्मतमा ढिला भए नभए वर्षात् सुरु हुन्छ’ धामीले भने ।

हिमपात र चिसोले हिउँदमा गाउँ बस्न नसक्ने दुवै गाउँका बासिन्दा सधैं बेंसी झर्छन् । गर्मी सुरुवातसँगै उनीहरू वैशाख पहिलो साताबाट भारतीय बाटो हुँदै गाउँ उक्लिएका छन् । वर्षौंदेखि भारतीय बाटो प्रयोग गरी व्यास–खलंगा बसाइँ सर्ने स्थानीयले खाद्यान्न उपभोग गर्न पाउने आशा कम हुँदै गएको छाङरुका वासुदेव ऐतवालले बताए । ‘छाङरुका बासिन्दा गाउँ फर्केको दुई साता भइसक्यो । अहिलेसम्म खाद्यान्न ढुवानी हुन सकेको छैन,’ उनले भने । -कान्तिपुरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार