अबको नेपाली समाजवाद : के के बिष्ट

वैज्ञानिक समाजवादको मूल्य मान्यता

अबको नेपाली समाजवाद : के के बिष्ट

वैज्ञानिक समाजवादको मूल्य मान्यता

केके बिष्ट

नेपाली समाजवाद को रणनीतिक लक्ष्य समाजवादको स्थापना गर्नु हो वैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित नयाँ मोडलको नेपाली समाजवाद निर्माण गरिने छ र त्यस समाजवादले नेपाली विशिष्टता लाई आत्मसात् गर्नेछ भनेर खुलस्त रूपमा भन्न सक्नु पर्छ ।

समाजवादका सम्बन्धमा पनि गहन अध्ययन गरी त्यसको विशेषता र ढाँचा प्रस्तुत गर्नु पर्छ । नेपाली विशेषताको समाजवादबारे कुरा गर्दा सबभन्दा पहिले त नेपाली विशेषता भनेकै के हो भन्ने बारेमा स्पष्ट हुनु पर्दछ र त्यसपछि समाजवाद के हो र नेपाली विशेषतासहितको हुँदा त्यो कस्तो हुनेछ भन्ने सम्बन्धमा स्पष्ट हुनु पर्दछ ।

नेपाली विशेषता भनेको नेपाली समाजको विशेषता हो । नेपाली समाजको विशेषताको कुरा गर्दा मुख्यतः निम्न चार प्रकारका विशेषता रहेको पाइन्छ भूराजनीतिक विशिष्टता नेपाल एउटा विशिष्ट प्रकारको भौगोलिक अवस्थामा रहेको छ । यसको उत्तरतर्फ समाजवादी व्यवस्था अँगालेको विशाल चीन छ भने दक्षिणतर्फ पुँजीवादी प्रजातान्त्रिक प्रणाली अँगालेको गणतन्त्र भारत छ ।

दुवै छिमेकी मुलुकसँग नेपालको प्राचीन कालदेखि नै मैत्री सम्बन्ध रहिआएको छ । दुवैतिरका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक व्यवस्थाको प्रभाव नेपालमा पर्दै आएको छ । त्यसैले नेपालले अँगालेका आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक मूल्य–मान्यताहरूमा आफ्नै खालका विशेषताहरू रहन गएका छन् ।

यस्तो प्रकारको भूराजनीतिक अवस्था हुनु नेपाली समाजको एउटा विशेषता हो । जाति, भाषा, धर्म र संस्कृतिको विविधता नेपाल कुनै एक जाति, एक भाषा, एक धर्म र एक संस्कृतिको बाहुल्यता भएको मुलुक होइन । यो बहु जाति, बहु भाषा, बहु धर्म र बहुसँस्कृति भएको देश हो । यहाँ कुनै पनि जातिको बाहुल्यता छैन ।

त्यसैले यसलाई अल्पसङ्ख्यकहरूको मुलुक पनि भन्ने गरिन्छ । यो नेपाली समाजको अर्को एक विशेषता हो । वर्गीय मात्र नभएर जातीय र सांस्कृतिक विभेद समेत हुनु नेपाली समाज वर्गीय विभेदबाट मात्र होइन, जातीय विभेद र सांस्कृतिक विभेदबाट समेत ग्रसित समाज हो । यो वर्णव्यवस्था एवम् छुवाछुत प्रथाजस्तो अमानवीय विभेदबाट समेत आक्रान्त समाज हो । तर अर्कोतर्फ यो धार्मिक, सांस्कृतिक र जातीय सहिष्णुताको परम्परा भएको समाज पनि हो । यस प्रकारको सामाजिक अवस्था हुनु नेपाली समाजको अर्को एक विशेषता हो ।

लोकतान्त्रिक प्रणाली अँगालेको इतिहास हुनु नेपाल प्राचीन कालदेखि नै लोकतान्त्रिक शासन व्यवस्था अँगाल्ने इतिहास भएको मुलुक पनि हो । शाक्य गणतन्त्र, कोली गणतन्त्र, विदेह गणतन्त्र आदि नेपालको प्राचीन गणतान्त्रिक शासन व्यवस्थाका ऐतिहासिक उदाहरण हुन् । ‘राजा’ पदवीका शासक चुन्ने र सभा या समितिद्वारा राज्य सञ्चालन सम्बन्धी एवम् जनसरोकारका सवालमा निर्णय लिने ती प्राचीन गणतान्त्रिक व्यवस्थाको इतिहास हुनु र पछिल्लो कालमा निरङ्कुशता एवम् निर्दलीयताका विरुद्ध अविचल रूपमा सङ्घर्ष गरेर आएको ताजा इतिहास हुनु नेपाली समाजको अर्को एक विशेषता हो ।

नेपाली विशेषताको समाजवाद भन्नेवित्तिकै नेपाली समाजका उपर्युक्त विशेषताहरू अनुरूपको समाजवाद हो भनेर बुझ्नुपर्ने हुन्छ । समाजवाद भनेको समतामूलक समाज निर्माण गर्ने अवधारणा हो । समाजवादको मूल आदर्श समानता हो र यसले समानता प्रवर्द्धन गर्ने हदसम्म नियन्त्रणकारी संस्थाहरूलाई समेत न्यायोचित ठान्दछ । समाजवाद भनेको त्यस्तो सिद्धान्त हो, जसले उत्पादनका साधनको स्वामित्व एवम् नियन्त्रण समुदायमा रहनुपर्दछ र तिनीहरूको प्रयोग सबैको हितमा हुनुपर्दछ भन्ने धारणा राख्दछ ।समाजवादका विभिन्न रूप छन् तापनि मूल प्रवृत्तिको हिसाबले दुइटा धारा छन् । एउटा प्रजातान्त्रिक समाजवाद र अर्को वैज्ञानिक समाजवाद ।

यी दुईबिच केही मुख्य भिन्नता छन् । ती हुन् :

१. वैज्ञानिक समाजवादले उत्पादनका साधनमाथि निजी स्वामित्वको अन्त्य गर्ने धारणा राख्दछ भने प्रजातान्त्रिक समाजवादले त्यस्तो धारणा राख्दैन ।

२. प्रजातान्त्रिक समाजवादले सामाजिक सुरक्षाको मात्र पक्षपोषण गर्छ भने वैज्ञानिक समाजवादले सामाजिक न्यायमा जोड दिन्छ ।

३. प्रजातान्त्रिक समाजवादले व्यक्तिगत स्वतन्त्रतामा जोड दिन्छ भने वैज्ञानिक समाजवादले समानतासहितको स्वतन्त्रतामा जोड दिन्छ । यी दुई खाले समाजवादमध्ये नेपालमा अँगाल्नु पर्ने समाजवाद प्रजातान्त्रिक समाजवाद नभएर वैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित नयाँ मोडलको समाजवाद हो।

समाजवाद सोभियत सङ्घ र त्यसलाई अन्धानुकरण गरेर आम रूपमा पूर्व समाजवादी देशहरूमा लागू गरिएको ‘सोभियत मोडेल’ को समाजवाद पनि होइन । हामीले निर्माण गर्ने समाजवाद आजको युगका विशेषताहरू समाविष्ट भएको उन्नत समाजवाद हुनेछ । अबको समाजवादमा लोकतन्त्र वा जनवादको अभ्यासलाई कुण्ठित हुन दिइने छैन, बरु सुनिश्चित गरिनेछ ।

आम जनसमुदायबिच लोकतान्त्रिक अधिकारको उपभोग, मुख्यतः सङ्गठन, अभिव्यक्ति, आलोचना वा विरोध, सिर्जना र व्यक्तिगत स्वतन्त्रतालाई प्रत्याभूत गरिनेछ । साथै राज्यसत्ता सञ्चालनमा आम जनसमुदायको संस्थागत सहभागिता एवं निर्णायक भूमिकालाई सुनिश्चित गर्नु पर्छ ।

बालिग मताधिकार, आवधिक निर्वाचन, निर्वाचित जनप्रतिनिधि संस्था र सरकार, प्रतिपक्ष, विधिको शासन, शक्ति पृथकीकरण जस्ता विषयहरू यसका अभिन्न अङ्ग हुनेछन् । राजनीतिक क्षेत्रमा पार्टी स्वतन्त्रता र बहुदलीय प्रतिस्पर्धाका अतिरिक्त समाजवादी लोकतन्त्रलाई अझ उन्नत बनाउन थप प्रभावकारी विधि, संयन्त्र एवं उपायको विकासमा ध्यान दिइनेछ ।

समाजवादको नाममा राज्य नोकर शाही पुँजीवादलाई वैधता दिने गरी वा त्यसलाई प्रश्रय दिने अर्थतन्त्र अवलम्बन गरिने छैन । सर्वहारा श्रमजीवी वर्गको सत्ता, आम सर्वहारा श्रमजीवी वर्गमाथिको उत्पीडनको अन्त्य, उत्पादक शक्तिको पूर्ण विकास, आम सर्वहारा श्रमजीवीलाई आर्थिक न्याय र सुखद जीवनयापनको सुनिश्चितता, आर्थिक उत्पादनको प्रचुरता, सम न्यायिक वितरण, पर्यावरणको रक्षा अबको समाजवादी आर्थिक मोडेलको सामान्य विशेषता हुनेछ । हामी यसलाई ठोस रूपमा थप विकास गर्दै लैजाने छौँ ।

नेपाली समाजवादी लोकतन्त्रलाई अझ उन्नत बनाउन थप प्रभावकारी विधि, संयन्त्र एवं उपायको विकासमा ध्यान दिनु पर्छ त्यसमा राम्रै बहसको खाँचो छ । हामी यसलाई ठोस रूपमा थप विकास गर्दै लैजाने आजको आवश्यकता हो । यसमा पनि बहसको खाँचो छ आजको दिनमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार