सिन्धुपाल्चोक बाढी अपडेट : मेलम्ची खानेपानी आयोजना स्थलमा फसेका ३७ जनाको उद्धार

घाइतेहरुलाइ उपचारका लागि धुलिखेल अस्पताल लगियो

सिन्धुपाल्चोक बाढी
फाइल तस्बिर/सिन्धुपाल्चोक बाढी

सिन्धुपाल्चोक: मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण फसेकाहरुको उद्धार जारी छ। मेलम्ची खानेपानी आयोजना स्थलमा रहेका ३७ जना मजदूरको उद्धार गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी  बाबुराम खनालले बताए। केही मजदूर घाइतेसमेत रहेकाले उपचारका लागि धुलिखेल अस्पताल लगिएको उनको भनाइ छ।

मेलम्ची बजारमा घर भत्कँदा पुरिएका दुई जना तथा होटलमा फसेका अन्य दुईको समेत उद्धार गरी सुरक्षित स्थलमा लगिएको उनले बताए।

अविरल वर्षासँगै खोलामा पानी बहाव निरन्तर  बढिरहेकाले अझै पनि खोला थुनिएको स्थानसम्म पुग्न नसकिएको बताउँदै खनालले घटनाको ययार्थ विवरण आउन केही समय लाग्ने बताए।

बाढीपछि मेलम्चीस्थित रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। होटलमा थुनिएका उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार विहान उद्धार गरिएको थियो।

धेरै जना हराएको तथा बाढीमा फसेको बताइए पनि हालसम्म आठ जना हराएको पुष्टि भएको र एक जनाको शव भेटिएको उनले जानकारी दिए।

मंगलबार साँझबाट आएको बाढीले मेलम्ची खानेपानीको आयोजना स्थलसँगै सिन्धुपाल्चोकका तिम्बु, चनौटे, तालामाराङ, मेलम्चीलगायत बजारमा भोतिक तथा मानवीय क्षति पुगेको छ।

तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ। मेलम्चीमा हिजो साँझदेखि बाढी गए पनि राति भएकाले गृह मन्त्रालयले हेलिकोप्टर पठाउन सकेको थिएन। बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो।

सदरमुकाम चौतारा र काभ्रेको धुलिखेलबाट गरी २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ। -नेपाललाइभबाट

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार