के तपाईले अनुमान गर्न सक्नु हुन्छ, नेपालीले वर्षमा कति खान्छन् मासु ?

मासु

काठमाडौँ : पछिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन् । उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै मासुको उपभोग पनि निकै बढेको हो ।

अन्य पशुपन्छीको तुलनामा कुखुराको मासुको खपत निकै बढेको उनीहरू बताउँछन् । पोषणविद्‌का भनाइमा नेपालीको प्रोटिनको मुख्य स्रोतको रूपमा मासु रहँदै आएको छ । कुखुराको मासु तथा अण्डाका लागि नेपाल लगभग आत्मनिर्भर भए पनि केही मात्रामा मासु आयात पनि हुने गरेको सरकारी विवरणले देखाउँछन् ।

मासु खपतको अवस्था
नेपालीहरूको आयस्तर बढेसँगै मासुको माग र खपत ह्वात्तै बढेको जानकारहरू बताउँछन् । पहिले क्रयशक्ति कम हुँदा नेपालीहरूले विशेष दिनहरूमा मात्र मासु खाने गरेकामा अहिले आफूलाई मन लागेको बेलामा मासु खानसक्ने अवस्था बनेको देखिन्छ ।

यद्यपि सहरी क्षेत्रमा त्यस्तो देखिए पनि ग्रामीण क्षेत्रमा अझै मासु खान विशेष दिन वा अवसर नै कुर्नुपर्ने अवस्था रहेको जानकारहरू बताउँछन् । नेपालमा सबैभन्दा धेरै मासुको खपत हुने समय दशैँ-तिहारजस्ता चार्डपर्व भएको बताइन्छ । व्यवसायीहरूले बताएअनुसार दशैँका बेला मात्रै काठमाण्डू उपत्यकामा करिब १० लाख किलो खसीको मासु खपत अनुमान छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बीसीका भनाइमा नेपालमा अहिले दैनिक रूपमा करिब आठ लाख किलो कुखुराको मासु खपत हुन्छ । त्यसमध्ये करिब पाँच लाख किलो काठमाण्डू उपत्यकामा मात्र हुने उनको भनाइ छ ।

नेपालमा मासु उत्पादन
आर्थिक सर्वेक्षण २०७९/८० को विवरण अनुसार नेपालमा गत वर्ष करिब साढे तीन लाख मेट्रिक टन मासु उत्पादन भएको थियो । यद्यपि आर्थिक वर्ष २०७८/७९ मा नेपालमा मासुको उत्पादन ५ लाख १२ हजार मेट्रिक टन भएको थियो ।

हाल नेपालमा उत्पादन र खपत हुनेमध्ये सबैभन्दा धेरै मासु कुखुराको भएको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. चन्द्र ढकालले बताए । सरकारी विवरणहरू अनुसार करिब २० वर्षअघिसम्म नेपालमा कुखुराको भन्दा राँगा/भैँसीको मासु धेरै उत्पादन हुने गर्थ्यो ।

तर नेपालमा व्यावसायिक कुखुरापालन बढेसँगै कुखुराको मासु उत्पादन ह्वात्तै बढ्न थाल्यो । त्यसले गर्दा अहिले नेपालमा उत्पादन र खपतका हिसाबले कुखुराको मासु सबैभन्दा अगाडि देखिएको छ । ढकालका भनाइमा अहिले नेपालमा उत्पादन हुने कुल मासुमध्ये कुखुराको ४० प्रतिशतभन्दा बढी हुने गर्छ भने राँगा/भैँसीको करिब ३७ प्रतिशत रहेको छ । खसीको १४ प्रतिशत र बङ्गुरको ७ प्रतिशत रहेको छ ।

मासु खानु किन आवश्यक ?
शरीरलाई चाहिने पौष्टिक तत्त्व पूरा गर्नका लागि मासु खानु आवश्यक रहेको पोषणविद्‌को भनाइ छ । राजधानीको एउटा निजी अस्पतालमा कार्यरत पोषणविद् चित्रकला नेपाल भन्छिन्, ‘दैनिक रूपमा सिफारिस गरिए बमोजिम मासु खाने हो भने त्यसले मानिसलाई स्वस्थ रहन मद्दत गर्छ तर त्यसलाई सही र स्वस्थ तरिकाले पकाएर खानुपर्छ ।’

‘मासुमा अन्न वा विरुवाबाट आउने प्रोटिनभन्दा शरीरलाई चाहिने सबैखाले प्रोटिन र खनिज तत्त्व पाइन्छ ।’ उनका भनाइमा मासुमा भिटामिन र चिल्लो पदार्थ पनि पाइने भएकाले यो निकै पोषिलो हुन्छ । कुपोषण भएकाहरूको वजन बढाउन तथा शल्यक्रिया गरेकाहरूको घाउ चाँडो निको पार्न मासुले मद्दत गर्ने उनी बताउँछिन् ।

सन्तुलित आहारका लागि मासु निकै महत्त्वपूर्ण रहेको नेपालको भनाइ छ । उनी दशैँका बेलामा अधिक मासु सेवन गर्ने र त्यो पनि अस्वस्थकररूपमा खाने चलन रहेको बताउँछिन् । ‘त्यसले चाहिँ हाम्रो शरीरलाई फाइदा भन्दा हानी नै धेरै गर्छ,’ उनले भनिन् ।

मासुमा ‘ट्रान्सफ्याट’ धेरै हुने भएकाले त्यस्तो बोसो शरीरमा टाँसिएर बस्ने र त्यसले विभिन्न दीर्घ रोगसमेत निम्त्याउन सक्ने उनको भनाइ छ । पोषणविद्हरूले दैनिक ५० ग्रामभन्दा बढी मासु नखान सुझाउने गरेका छन् भने त्यो पनि बफाएर वा सामान्य रूपमा पकाएर खान सुझाव दिन्छन् । विशेषगरी पोलेर खाइने र मदिरासँग मासु खाँदा त्यसले शरीरलाई अत्यन्त हानी गर्ने पोषणविद् नेपालले बताइन् । -बीबीसी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार